राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले १ हजार ल्यापटप बाँड्ने

तामसालिङ खबर
८ आश्विन २०७६, बुधबार १२:३९

असोज ८,काठमाण्डौ – राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले १ हजार ओटा ल्यापटप बाँड्ने तयारी गरेको छ । देशभरका ७५३ पालिकाहरुका लागि भन्दै विभागले १ हजार ओटा ल्यापटप खरिद गर्ने काम अघि बढाएको छ ।

गएको साउन १४ गते टेण्डर आह्वान गरेको विभागले रीतपूर्वक टेण्डर भरेका ४ वटा कम्पनीमध्ये ओम्नि बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि पाटन ढोका ललितपुरलाई ल्यापटप खरिद गर्ने जिम्मेवारी दिएको छ ।

विभागले बोलपत्र पेश गरेको मध्ये ओम्नि बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालिलाई छनौट गरेको सूचना प्रकाशित गरेको छ । १ हजार ओटा ल्यापटप खरिद गर्न ७ करोड १७ लाख ६६ हजार ३ सय रुपैयाँ स्वीकृत गरेको पनि विभागले जनाएको छ ।

विभागले सञ्चालन गरेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै पालिकाहरुमा रहने सेवा इकाईका लागि ल्यापटप खरिद गर्न लागिएको विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

व्यक्तिगत घटना दर्तालाई अनलाइन प्रणालीमा आधारित बनाउने तथा सामाजिक सुरक्षा कार्यक्रमलाई पनि अनलाइन प्रविधिमा लैजानका लागि विभागले हरेक स्थानीय तहमा सेवा इकाई राखेको पनि सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । विभागले देशैभरका पालिकाहरु मा रहने इकाईका लागि आवश्यक पर्ने झण्डै २ हजार जनशक्ति पनि करारमा भर्ना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*