सुदुरपश्चिममा स्क्रब टाइफसका कारण २ जनाको मृत्यु, १४४ जना प्रभावित

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ००:०६

असोज ४,काठमाण्डौ – स्क्रब टाइफसका कारण बझाङमा एक महिला र एक पुरुष गरी दुई जनाको मृत्यु भएको छ भने अन्य १४४ जना प्रभावित भएका छन् ।

स्क्रब टाइफसबाट मृत्यु हुनेमा कैलाली जिल्ला गेटा बस्दै आएका बझाङ देउरा घर भएका १५ वर्षीय भरत खाती र वित्थडचिर गाँउपालीकाकी २३ वर्षीया सरस्वती सिंह रहेको सुदूरपश्चिम प्रदेश निर्देशनालय डोटीका जनस्वास्थ्य ओमप्रकाश जोशीले बताउनु भयो । दुवै जनाको कैलालीमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा जिल्ला बाहेक अरु ७ वटा जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक सय ४४ जना स्क्रब टाइफसबाट प्रभावित भएका छन् । तीमध्ये सबैभन्दा बढी डडेल्धुरामा ५४ जना, कैलालीमा ४४, बैतडीमा २४, कञ्चनपुरमा ९, डोटीमा ६, बझाङमा ५ र दार्चुलामा दुई जनामा संक्रमण देखिएको जोशीले बताउनु भयो ।

मुसामा देखिने माइट अर्थात् किर्नाबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने डाक्टरहरुको भनाइ छ । माइट अर्थात् किर्ना प्रायजसो झाडी, खेतबारी, वनजगंल तथा घुरान हुने ठाँउमा देखा पर्ने गरेको छ ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, बिस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छोड्ने, समयै उपचार नभए दम बढ्ने, सास फेर्न गाह्रो भएर बिरामी सिकिस्त समेत हुन सक्ने डाक्टरको भनाइ छ । किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ ।

यो रोगबाट बच्न खेतबारीमा काम गर्दा, वनजगंल झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घाँसमा वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासमा वा चौरमा नबस्ने, घाँस बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि नहुने वातावरणको सिर्जना गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । #उज्यालो_अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*