साँस्कृतिक कार्यक्रम सहित देवास राईले मनाए, स्थापना दिवस

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १२:२५

भदौ, हेटौंडा – किराँत देवास राई उत्थान समाजले १५औं स्थापना दिवस विविध कार्यक्रमगरी मनाएको छ । देवास राईको मुख्य बसोबास रहेको मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा विभिन्न जिल्लाबाट भेला भएका देवास राईले साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएका हुन् ।

विभिन्न जिल्लाबाट आफ्नो जातीय पहिचान र भेषभुषा सहित उपस्थित देवास राई समुदायले भेषभुषा र कला संस्कृतिको प्रदर्शनका साथै आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए । बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य तथा किराँत राई यायोक्खाका केन्द्रीय सदस्य एवं नेपाल प्रहरीका पूर्व बरिष्ठ प्रहरी उपरीक्षक किवाङ हाङ राई, किराँत देवास राई उत्थान समाजका केन्द्रीय सदस्य प्रमोद राई र पहरी विकास संघका केन्द्रीय अध्यक्ष जनक पहरीको विशेष आतिथ्य कार्यक्रममा रहेको थियो । कार्यक्रम किराँत देवास राई उत्थान समाज केन्द्रीय समिति अध्यक्ष आस्मान राईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष घलानले लामो इतिहास र गौरव बोकेको राई जातीलाई समाजमा पछाडि पारिएको बताउँदै आफूहरुले अगाडि बढाउन सक्दो सहयोग गर्ने बताए । किराँत राई यायोक्खाका केन्द्रीय सदस्य राईले राई जातीहरु पहिले शासक रहेपनि अहिले शासित हुनु परेकाले आफ्नो भाषा, संस्कृति जगेर्ना गर्न एकजुट हुनुपर्ने बताए । कार्यक्रममा राई समुदायका १० जना बृद्ध–बृद्धालाई सम्मान गरिएको थियो ।

त्यस्तै, विशिष्ठ योगदान गरेका सरकारी कर्मचारी शुक्रमान राई र किशोरकुमार राई, समाजसेवी बीरबहादुर राई, शिक्षक सूर्यबहादुर राई, प्रहरी राजकुमार राईलाई सम्मान गरिएको हो । किराँत देवास राईको भाषा, संस्कृतिको संरक्षण र भातृत्वको विकासमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याएको किराँत देवास राई उत्थान समाजका केन्द्रीय सदस्य प्रमोद राईले बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नुवाकोटका कोषाध्यक्ष भोलाचन्द्र राई, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष कृष्ण सारु मगर, बागमती गाउँपालिका १ का वडा अध्यक्ष ठगेन्द्र वाईबा, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) मकवानपुरका सचिवालय सदस्य विवेक राई, नेकपा गाउँपालिका अध्यक्ष अरुण बल, किराँत देवास राई केन्द्रीय वरिष्ठ उपाध्यक्ष जीवन राई, चितवन अध्यक्ष ज्ञानबहादुर राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*