निकिताको जाहेरी दर्ता गर्न प्रहरीले मानेन

तामसालिङ खबर
५ भाद्र २०७६, बिहीबार ०८:३१

भदौ ४, काठमाण्डौ – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ ।

पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो किर्ते गरिएको भन्दै चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौ पुग्नु भएको थियो ।

तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जाहेरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले जानकारी दिनुभयो । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उहाँले बताउनुभयो । अब उहाँले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने पनि बताउनुभयो ।

जाहेरी दर्ता लिन नमानेपछि निकिता पौडेलले काठमाण्डौ प्रहरीप्रति असन्तुष्टि पोख्नुभयो । यही घटनामा मृतक पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले दिएको उजुरी चाहिँ क्षेत्राधिकारभित्र पर्ने तर आफूले दिन खोज्दा चाहिँ त्यो क्षेत्राधिकारभन्दा बाहिर कसरी भयो भन्दै उहाँले प्रश्न गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*