असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

तामसालिङ खबर
२० श्रावण २०७६, सोमबार ०९:११

१. कक्षाकोठा व्यवस्थापन – कक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थीको उमेर समूहअनुसार फरकफरक व्यवहार गर्नुहोस् ।

२. उद्देश्य निर्धारण गर्नुहोस् – तपाईं कक्षामा के उद्देश्य लिएर छिर्नुभएको छ, पहिले नै निर्धारण गर्नुहोस् । विद्यार्थीले के सिकून् भन्ने अपेक्षा तपाईंले राख्नुभएको छ, सोही अनुसार पढाइलाई अगाडि बढाउनुपर्दछ । पाठ योजना बनाउँंदा नै यस विषयलाई प्राथमिकता दिनुहोस् ।

३. कक्षाकोठालाई शान्त बनाउनुहोस् – जहिले पनि शान्तपूर्ण वातावरणमा पढाउनुहोस् । एकआपसमा कुराकानी गर्ने तथा शिक्षक र विद्यार्थीबीच अन्तरसंवाद हुन सकेन भने सिकाइ क्रियाकलाप प्रभावकारी नहुन सक्छ । तर कक्षालाई शान्त बनाउने नाममा शिक्षक विद्यार्थीको अन्तरसंवादलाई शून्य बनाउनु हुँदैन ।

४. विषयवस्तुको गहिराइमा पुग्नुअघि विद्यार्थीलाई मौखिक प्रश्न सोध्नुहोस् – पुस्तकमा भएको विषयवस्तुअनुसार सीधै पढाउँदा सम्बन्धित विषय विद्यार्थीलाई अनौठो लान सक्छ । यस्तो अवस्थामा उनीहरूलाई पृष्ठभूमि बताउनेगरी मौखिक रूपमा नयाँनयाँ विषयवस्तुबारे सोध्नुहोस्, जसले विद्यार्थीलाई किताब पढेपछि अझ धेरै ज्ञान दिन सकोस् ।

५.सकारात्मक सोचका साथ प्रतिस्पर्धा गराउनुहोस् – विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन एकआपसमा स्वच्छ प्रतिस्पर्धाको भावनाको विकास गराउनुहोस् । कुन विषयमा कुन विद्यार्थीले धेरै लेख्न सक्छ वा व्याख्या गर्न सक्दछ भन्ने बानीको विकास गराउनुपर्दछ । जसले विद्यार्थीलाई रचनात्मक र मेहनती बनाउनसमेत मद्दत पुर्‍याउँदछ ।

६. पाठयोजना बनाउन नबिर्सनुहोस् – हरेक कार्य सम्पन्न गराउनका लागि योजनाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले शिक्षकले पनि पाठयोजना बनाएरमात्र कक्षाकोठामा प्रवेश गर्नुपर्दछ । शिक्षकले वर्षभरिमा कुन एकाइलाई कति दिन पढाउनेदेखि लिएर कुन दिन कक्षामा छिरेको समयमा के के पढाउने भन्ने विषयमा समेत स्पष्ट योजना बनाउनुपर्दछ । (नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*