त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १०:०९

साउन ४, काठामाण्डौ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् ।

आयोगका पूर्वकर्मचारी समेत रहेका ६७ वर्षीय पाण्डे बिहीबार साँझ त्रिपुरेश्वरस्थित एक भवनको ६ तला माथिबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी कानुन व्यवसायीलाई भेट्न उक्त भवनमा सञ्चालित ल फर्ममा पुगेका थिए । त्यही भवनबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए । परीक्षार्थीको नम्बर थपघट गरेर नतिजा फेरबदल गराएको आरोपमा अख्तियारले उनीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको छ ।

सेवा आयोगको विज्ञापन नम्बर १८ र ०७३/०७४ अन्तर्गतको मुख्य कार्यालय सहायक पदको दोस्रो पत्र र कार्यालय सहायकको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षणमा उनी संलग्न थिए । यी दुईसहित ६ पदको परीक्षामा आयोगका पदाधिकारी, परीक्षक, समपरीक्षक र कर्मचारीले अनियमितता गरेको अख्तियारको ठहर छ ।

आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल, सदस्यसचिव परशुराम कोइरालाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*