दाङमा पेट्रोलयम पदार्थको अभाव, ट्याङकर चालकहरु आन्दोलनमा

तामसालिङ खबर
३ श्रावण २०७६, शुक्रबार १०:४१

दाङ – ट्याङ्कर चालकहरुको आन्दोलनका कारण दाङमा करिब एक सातादेखि पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । तापक्रमको कारण पेट्रोलियम पदार्थमा घट्ने हुँदा आफुहरुले घाटा ब्यहोर्न परेको भन्दै चालकहरु गत असार २६ देखि आन्दोलन उत्रिएका हुन् । आन्दोलनका कारण दाङ र पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको नेपाल आयल निगम डिपो तुलसीपुरका प्रमुख सुदीप पोख्रेलले बताए ।

तुलसीपुर डिपोमा भारतको गोण्डाबाट ढुवानी गरी तेल ल्याउँदा तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने र घटेको पेट्रोल ढुवानीकर्ता अर्थात् चालकले पूर्ति गर्नुपर्ने भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

प्रमुख पोख्रेलले भने, ‘४१ डिग्री सेल्सियस तापक्रम भएको ठाउँबाट २५/२६ डिग्री सेल्सियस तापक्रम भएको स्थानमा ल्याउँदा पेट्रोलियम पदार्थको मात्रा घट्छ ।’ यदि एक डिग्री सेल्सियस तापक्रम घटेमा १५ लिटर डिजल र २१ लिटरसम्म पेट्रोलको मात्रा घट्ने प्रमुख पोख्रेलको भनाइ छ ।

चालकको आन्दोलनका ढुवानी ठप्प भएपछि आयल नियमको सानो ट्याङकरबाट दैनिक नौ हजार लिटर डिजेल, नौ हजार लिटर पेट्रोल र मट्टीतेल ढुवानी गरिरहेको छ ।

तुलसीपुर डिपोबाट दाङमा २९ वटा, सल्यानको थारमारे, रोल्पाको होलेरी, रुकुममा १/१ वटा र मट्टितेलका ३ गरी ३५ वटा पेट्रोलपम्पमा १ लाख २० हजार लिटर डिजल र ३२ हजार लिटर पेट्रोल दैनिक रुपमा खपत हुने गरेको छ । उपभोक्ताहरुले भने पेट्रोलियम पदार्थको नपाउँदा सास्ती भोग्नु परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*