अविरल वर्षा अपडेट: १९ जनाको मृत्यु, ८ बेपत्ता

तामसालिङ खबर
२८ असार २०७६, शनिबार ०९:१९

काठमाडौं – बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ । थापाका अनुसार प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्छ । ज्यान गुमाउनेको विवरण बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् । टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए ।

ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

काठमाडौंको मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । निरन्तरको वर्षाका कारण ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टामा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु भएको छ । पञ्चलाल जिम्माका घर पहिरोमा पुरिँदा घरभित्र रहेका दुई छोरामध्ये ११ वर्षीय सरोज जिम्माको मृत्यु भएको हो ।

घर पुरिनासाथ स्थानीयवासीले तत्काल उद्धार गर्दा एक जना सकुशल भेटिएको र एक जनाको मृत्यु भइसकेको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई उद्धृत गर्दै महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख रामकृष्ण सापकोटाले राससलाई बताएका छन् । कान्ती लोकपथमा पर्ने खानीखोला बढ्दा अहिलेसम्म घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए ।

प्रहरी चौकी छपेली र प्रहरी चौकी आश्राङ गरेर दुवैतर्फका प्रहरी घटनास्थलमा पुग्न सकेका छैनन् । उनले भने, ‘त्यहाँको अवस्थाका बारेमा हामी गाउँपालिकासँग नियमित सम्पर्कमा छौँ ।’ दक्षिणी भेगका कतिपय स्थानमा खोला बढेर र सडक अवरुद्ध हुँदा घटना हुँदा हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था रहेको वृत्तले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*