नेपालले इन्टरनेट केबुल समुन्द्रसम्म बिछ्याउन अध्ययन थालिँदै

तामसालिङ खबर
२५ असार २०७६, बुधबार ०८:४१

काठमाडौ – नेपालले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना बनाएको लामो समय बित्यो । अब बल्ल नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि अध्ययन थाल्न लागेको छ । आफ्नो देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तर्राष्ट्रिय महामार्गबाट ल्याउने योजना अनुसार प्राधिकरणले यस्तो अध्ययन गर्न लागेको हो ।

प्राधिकरणले नेपालको इन्टरनेट समुन्द्रसम्म बिछ्याउने योजनाको सम्भाब्यता अध्ययन गर्न ५ वटा कम्पनीलाई ‘छनोट सूची’ मा राखेको स्रोतले बतायो । अब कम्पनीहरुको आर्थिक प्रस्ताव मूल्यांकन गरेर एउटा छनोट गरिनेछ ।

हाल नेपालले भारत र चीनका विभिन्न ४ वटा नाकाबाट इन्टरनेट भित्र्याइरहेको छ । भारतसँगको भैरहवा, वीरगञ्ज र विराटनगर नाका तथा चीनसँगको रसुवागढी नाकाबाट इन्टरनेट भित्रिरहेको छ । समय–समयमा भारत र चीनतर्फ प्राकृतिक विपत्ति पर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित हुने गर्छ ।

सार्वभौम मुलुकका हिसाबले पनि नेपालले समुन्द्रसम्म इन्टरनेटको आफ्नो पहुँच स्थापना गर्न अधिकार राख्छ । त्यसैलाई मध्यनजर गरेर सरकारले योजना अघि बढाएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यसले नेपाल आउने इन्टरनेटको विश्वसनीयता र गुणस्तर पनि सुधार्न सकिने अपेक्षा सरकारको छ । यो काम अघि बढाउन गत जेठ २ गते सम्भाव्यता अध्ययनका लागि आशयपत्र आह्वान भएको थियो ।

प्राधिकरणले सितारा कन्सल्टेन्ट–एभरेष्ट टेलिकम एण्ड आईटी सोलुसन जेभी, सिभिल ईन्फर्मेटिक्स एन्ड सोलुसन्स–स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्च टिम जेभी, महारुद्र ग्रुप –एक्जुकेटिभ कन्सल्टिङ ईन्जिनियरिङ एन्ड प्लानर जेभी, जियोकम ईन्टरनेशनल–म्याक्सटेक स्टड–सर्भिस जेभी र इन्टर इन्फरमेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि सर्टलिष्टमा राखेको छ ।

निकै महत्वकांक्षी योजना भएकोले आर्थिक तथा प्राविधिक रुपमा कति सम्भाब्य छ भनेर अध्ययनपछि मात्रै स्पष्ट हुने स्रोतले बताएको छ । #अनलाइन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*