भारतको प्रतिष्ठित आईफा अवार्ड काठमाडौंमा हुने

तामसालिङ खबर
१३ असार २०७६, शुक्रबार ०७:३२

काठमाडौं – भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड) नेपालमा हुने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सह-आयोजक रहनेछ ।

आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने वातावरण बनाउन भन्दै सरकारले ८ असारमा एउटा समिति गठन गरेको थियो । बिहीबार बसेको समितिको पहिलो वैठकले आईफाका प्रतिनिधिसँग बसेर छलफल गरेर ५ दिनभित्र अवार्डको मोडालिटी टुंगो लगाउने निर्णय लिएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जानकारी दिए । ‘५ दिनभित्र कार्यक्रमको विस्तृत कार्ययोजना बनाएर हामी आयोजकसँग उच्चस्तरीय वार्तामा बस्दैछौं,’ उनले भने ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ । उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने सरकारको अनुमान छ । बलिउड कलाकार तथा प्राविधिकहरुको हवाई टिकट, होटल बसाई, सुरक्षा व्यवस्थापन, कार्यक्रमस्थल निर्माण तथा व्यवस्थापनमा ठूलो पैसा लाग्ने छ ।

उच्चस्तरीय समितिका सदस्य चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले अवार्ड हुने लगभग तय भए पनि विविध विषय टुंगो लाग्न बाँकी रहेको बताए । ‘हामी चार महिनादेखि यसमा गृहकार्य गरिरहेका छौं । मौखिक रुपमा धेरै कुराहरु टुंगेका छन् तर, समझदारीमा हस्ताक्षर हुन बाँकी छ,’ उनले भने ।

नेपाली कलाकार र मिडियालाई कार्यक्रममा कसरी पहुँच दिने लगायतका विविध विषयमा नेपाली पक्षले आफ्ना अडान राख्ने उनले बताए । ‘बलिउड कलाकार र मिडियाका अगाडि हाम्रा कलाकार र मिडियाले समान हैसियत पाउनुपर्छ भन्नेमा हामी सचेत छौं,’ उनले भने ।

सरकारले आयोजकसँग उच्चस्तरीय वार्ता गर्न बनाएको कमिटीको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*