क्लिन फिड लागू भए व्यवसाय बन्द गर्छौ – केवल टिभी सेवा प्रदायक

तामसालिङ खबर
१० असार २०७६, मंगलवार २१:५०

काठमाडौं – सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागू गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् । नेपालका केवल टिभी सेवा प्रदायकहरुले सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागू गर्न लागेको आरोप लगाए ।

उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशायी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐन मार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशायी बनाउनु हो ।’

उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे । उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुने पनि जिकिर गरे । ‘क्लिन–फिड’ लागू भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउन सक्ने उनले खतरा औंल्याए ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाइएको बताएका छन् । क्लिन फिड लागू भए नेपाली च्यानल मात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने, ‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’

उनले समस्या समाधानको लागि सम्वाद गर्नुपर्ने सरकार सामू आग्रह गरे । नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदा-हुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो ? भन्दै प्रश्न समेत गरे ।

परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे । उनले आफूहरुको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे । @ रातोपाटी डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*