तरकारी खेतीको पकट क्षेत्र बनाइदै मनहरीको देउकोट
मनहरी – पश्चिम मकवानपुरको मनहरी गाँउपालिका वडा नम्बर ८ देउकोटमा तरकारी खेती पकट क्षेत्र बनाउनको निम्ति सिचाँईको ब्यवस्था गरिने भएको छ । गाँउपालिकाले उपलब्ध गराएको ३३ लाख बजेटबाट देउकोट लिफ्ट सिचाँईको काम भइरहेको वडाअध्यक्ष दिलबहादुर स्याङतानले जानकारी दिए ।
सिचाँईका लागि गाँऊको उच्च भागमा ७५ हजार लिटरको ट्यांकि निर्माण भइरहेको छ । उक्त टयांकिमा ३ किलोमिटर दुरीको भुत्बाङ खोलाबाट मोटरले तानेर पानी जम्मा गर्ने ब्यवस्था मिलाइने अध्यक्ष स्याङतानले बताए । सिचाई निर्माणको ५० प्रतिशत भन्दा बढि काम सकिएको र यसै आर्थिक बर्षभित्र सबै काम सम्पन्न गरिने उपभोक्ता समितिका सचिव सन्तोष थोक्राले बताए ।
सिचाईको सुविधाबाट एक सय घरधुरी लाभान्वित हुने उनको भनाई छ । विगतमा खानेपानीको अभावले समस्या पर्ने सो क्षेत्रमा सिचाँईको सुविधा हुने भएपछि स्थानिय उत्साहित छन । तरकारी उत्पादनका लागी पश्चिम मकवानपुरकै पकेट क्षेत्र मानिने सो क्षेत्रमा गोलभेडाँ, काउली, बन्दा लगायत विभिन्न तरकारी उत्पादन हुदै आएको छ ।
सिचाँई सुविधा भएपछि तरकारी खेतीमा थप सहज हुने स्थानीयको बिश्वास छ । पर्यटकिय हिसाबले पनि सम्भावना बोकेको सो स्थानमा गाँउपालिकाले भ्यु टावर निर्माण गरिरहेको छ । मनहरीबाट ५ किलोमिटरको दुरीमा रहेको देउकोट ग्रामीण पर्यटनको लागि उपयुक्त ठाँऊ रहेको गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीको भनाई छ ।