तिन नम्बर प्रदेशको बजेटप्रति विपक्षीको असन्तुष्टी

तामसालिङ खबर
४ असार २०७६, बुधबार १४:३३

हेटौंडा – प्रदेश नम्बर ३ सरकारले ल्याएको आगामी आर्थिक बर्ष(आव) २०७६/७७ को बजेटप्रति विपक्षी दलहरुले तिव्र असन्तुष्टी जनाएका छन् । प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले पेश गरेको बजेट वक्तव्य अस्पष्ट, अपूर्ण र विकास अनुकुल नरहेको उनीहरुले आरोप लगाए ।

गत आव २०७५÷७६ मा भन्दा ११ अर्ब ९९ करोड ५२ लाख बढी अर्थात् ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैंयाको बजेट ल्याएपनि प्रतिपक्षी दलहरु सन्तुष्ट हुन सकेका छैनन् । प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बजेट अपूर्ण, अस्पष्ट र गोलमोटोल रहेकाले प्रदेशको विकासमा असर पार्ने बताए ।

‘बजेटमा ठोस कुरा छैन, जम्मै गोलमोटोल गरेर बजेटमा यहाँ–यहाँ यत्ति रकमले यसरी काम गरिन्छ भन्ने छैन,’ उनले भने, ‘यसले प्रदेश र जनताको हीत गर्दैन, बजेट अन्तरमुखी छ ।’ सरकारले जनतालाई बजेटप्रति विश्वास जगाउँने किसिमको नल्याएको जिकिर गर्दै उनले बजेटको रकम होलसेलमा राखिएकोप्रति रोष प्रकट गरे ।

‘बजेटको केही शिर्षकमा यति पैसा दिने भने स्पष्ट छ, जस्तो ‘एक विद्यालय एक नर्स’ कार्यक्रमलाई छ करोड दिने भन्या छ,’ उनले थपे, ‘तर मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम, हेटौंडा अस्पताललाई मदनकुमार भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान बनाउने जस्ता मुख्य कार्यक्रमकै रकम होलसेलमा राखिएको छ ।’
नेपाली कांग्रेसै सांसद निमा लामाले नयाँ बजेटमा नयाँ कुरा केही नल्याईएको भन्दै उत्प्रेरित गर्ने खालको नभएको बताए । ‘पुरानै धेरै कार्यक्रमलाई निरन्तरता दिईएको छ,’ उनले भने, ‘गतआवमा बजेट खर्च गर्न नसक्ने सरकारको असक्षतालाई नयाँ बजेटले निरन्तरता दिने देखाएको छ ।’

विवेकशील साझा पार्टीका प्रदेश सांसद रमेश पौड्यालले सरकारले बजेटमार्फत् सांसदलाई नीति, निर्माण गर्ने प्रकृयाबाट विमुख गराउँदै वडाअध्यक्ष जस्तो बनाउन खोजेको आरोप लगाए । ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम शक्ति पृथकीकरणको सिद्धान्तको विपरीत छ, कुल विकास बजेटको झण्डै ९५ बजेट सांसदको झोलीमा राखेर कस्तो समृद्धि हासिल गर्न खोजिएको हो, बुझिनसक्नु छ,’ उनले भने, ‘प्रदेश सरकारले ल्याएको बजेट संघीयता मर्म, स्थानीय तह र ‘बटम टु एप्रोच’ विरुद्ध समेत छ ।’

बजेटको आकार बृद्धी गरिएपनि गतआवमै सरकारको खर्च गर्ने क्षमता दयनीय रहेको भन्दै बजेट प्रदेश सरकारको एउटा तमाशा भएको बताए । ‘चालु आवमै सरकारको बजेट खर्च गर्ने क्षमता निक्कै दयनीय छ, आगामी आवमा बजेट खर्च गर्ने स्पष्ट आधार दिईएको छैन,’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)की सांसद रीना गुरुङ्गले चालुआवकै बजेट धेरै खर्च गर्न नसकेको सरकारले आगामी आवमा खर्च प्रतिशत बढाउनेमा शंका व्यक्त गरिन् । ‘बजेटको खाका ल्याउनै पर्ने भएर खाका ल्याएको छ,’ उनले भनिन्, ‘चालुआवकै बजेट कार्यान्वयन गर्न सकेन भनेर आर्थिक मामिला मन्त्रीले स्वीकार्नुभयो, धेरै कार्यक्रम दोहो¥याउनु भएको छ, कार्यकर्ता भर्ती गर्न पनि बजेट छुट्याईएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले बजेटबाट प्रदेशको जनताले कुनै राहत नपाउने बताईन् । ‘पुरानो शैलीलाई टेकेको छैन र वर्तमान आमूल परिवर्तन शैलीलाई पनि आत्मसाथ गर्न सकेको छैन,’ उनले भनिन्, ‘प्रदेशमा अथाह बेरोजगार युवालाई स्वरोजगार दिने कार्यक्रम आएको छैन, धार्मिक–सांस्कृतिक धरोहर र नेपालको मौलिक धर्म, संस्कृतीलाई संरक्षण गर्न बजेटले समेटेको छैन ।’

यता, सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का प्रदेश सचेतक रामेश्वर फुया“लले देशमा धेरै पटक क्रान्तिहरु भईसकेकाले विकास निर्माणमा केन्द्रीत रहेको भन्दै बजेटको बचाउ गरे । ‘नेपालमा २००७, २०४६ र २०६३ मा क्रान्ती भयो,’ उनले भने, ‘अव निर्माण हाम्रो काम हो, त्यसका लागि हामीले बनाएको नारा ‘प्रदेश समृद्धिको आधारः श्रम, सिर्जना, उत्पादन र रोजगार’, यही विषयलाई अघि बढाउन बजेटले प्रयास गर्नेछ, कृषिमा जोड दिएर व्यवसायिक ढंगले अघि बढाउन चहान्छौं ।’
प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले गतआवको भन्दा नयाँ बजेट वस्तुवादी, यर्थातपरक र तल्लो तह तथा ग्रामिण समुदाय लक्षित रहेको दाबी गरे । ‘बजेट सकारात्मक छ, बजेटले प्रदेशको आर्थिक गतिविधिलाई तिव्र बनाउन ठूलो मद्दत गर्नेछ,’ उनले थपे ।

नेकपाकै सांसद डा. रामकुमार अधिकारीले बजेटले राखेको प्राथमिकताहरु नै एकदमै महत्वपूर्ण रहेको बताउँदै बजेट सन्तुलित, समानुपातिक, लगानीमैत्री वातावरण बनाउन केन्द्रीत रहेको जिकिर गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले आवधिक योजनाअनुसारै बजेट आएको भन्दै उपलब्ध स्रोत, साधनलाई ध्यानमा राखेर बजेट तथा कार्यक्रम ल्याएको बताए ।

‘आगामी आवमा सतप्रतिशत खर्च गर्ने गरी बजेट ल्याएका छौं,’ उनले भने, ‘५० अर्ब बढीको बजेट आउने अनुमान थियो, ठिक्क खर्च गर्नेगरी बजेट ल्याएका हौ ।’ नागरिक दैनिकमा अशोकसुजन श्रेष्ठले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*