सरकार विरुद्ध काठमाण्डौमा बिशाल प्रदर्शन
काठमाडौ – सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानी काठमाडौंमा विशाल जनप्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मंगलबार फिर्ता लिएकी थिइन् ।
उनले सरोकारवालासँगको छलफलका लागि विधेयक फिर्ता लिएको बताएकी थिइन् । तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् ।
विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ । खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’,‘सम्पदा मास्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका गुठी पक्षधरहरुको प्रदर्शनका कारण थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डला लगायतका विभिन्न स्थानको सवारी आवागमन प्रभावित बनेको छ । प्रदर्शनमा हजारौं गुठी पक्षधरको सहभागिता छ ।
प्रदर्शनकारीले सरकारले संस्कृति मास्न खोजेको भन्दै समयमै नसच्चिए सरकार नै मासिने चेतावनी दिए । उनीहरुले सरकारविरोधी नारा लेखेका विभिन्न प्लेटकार्ड समेत बोकेका थिए ।
सरकारले मंगलबार नै वियेधक फिर्ता लिने घोषणा गरेपनि गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो ।