मनहरीका दुई वडा बालविवाह मुक्त वडा घोषणा हुँदै
जयराम मोक्तान, २३ जेठ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका २ वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ र ९ लाई यहि जेठ २६ गते संयुक्त रुपमा बालविवाह मुक्त वडाका रुपमा घोषणा गर्न लागिएको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले जानकारी दिईन् ।
कार्यक्रमको तयारीका लागि सरोकारवालाहरु बिहीबार छलफल समेत भएको छ । छलफलमा घोषणा कार्यक्रम सफल बनाउनका लागि विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । । जेठ २६ गते बिहान मनहरी बजारको पुलबाट बाजागाजा सहित विभिन्न चेतना मुलक प्ले कार्ड सहितको र्याली निकालिने तयारी समेत गरिएको छ । र्याली पश्चात कोणसभामा परिणत भई बालविवाह मुक्त वडा कार्यान्वयन गर्ने र बालविवाह मुक्त घोषणाको सामुहिक प्रतिबद्धता गराउने कार्यक्र तय भएको छ ।
तयारी बैठकमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट , ८ नम्बर वडा अध्यक्ष दिल बहादुर स्याङतान , ९ नम्बर वडाका अध्यक्ष साधुराम अधिकारी , बाल सञ्जालमा आबद्ध बालबालिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।