पदमपोखरीमा बन्दै एक करोडको डिप बोरिङ
मकवानपुर, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा बिहीबार डिप बोरिङको शिलान्यास गरिएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डिप बोरिङको शिलान्यास गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आल्दमारका साथै वडाका अन्य स्थानमा खानेपानी वितरण गर्ने उदेश्य सहित डिप बोरिङ सञ्चालनको तयारी गरिएको हो । प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँको लगानीमा डिप बोरिङको तयारी गरिएको वडा अध्यक्ष ललित घलानले जानकारी दिए । हेटौँडा १२ र १३ अन्तर्गत पदमपोखरीका विभिन्न स्थानमा यस अघि नै पदमपोखरी खानेपानी आयोजना मार्फत खानेपानी वितरण भइरहेको छ । केही वर्ष यता खानेपानीमा आंशिक रुपमा अभाव बोक्दै आएको पदमपोखरीमा एक दिन बिराएर खानेपानी वितरण भइरहेको छ । तर ठाउँ ठाउँमा डिप बोरिङको योजना बनेपछि भने पदमपोखरीमा खानेपानीको समस्या हट्ने देखिएको छ ।
पदमपोखरी खानेपानी आयोजनाको पानी प्रशोधन तथा संकलन केन्द्रको ट्याँङ्की नजिकै गरिएको डिप बोरिङले पदमपोखरीमा थप खानेपानी आपुर्तिमा सहज हुने वडा अध्यक्ष घलानले बताए । वडावासीहरुको सहयोगमा वडाअध्यक्ष सहित सबै वडा कमिटि नै १२ नम्बरमा खानेपानीको समस्या हटाउन अग्रसर भएपछि स्थानीयमा समेत खुशी छाएको छ । डिप बोरिङबाट हजारौँ घरधुरी लाभान्वित हुनेछन् । डिप बोरिङ सञ्चालनबाट प्रति सेकेण्ड ७ देखि करिब १५ लिटरसम्म पानी वितराण गर्न सकिनेछ । साथै थप खानेपानी वितरणका लागि समेत प्रयास जारी भएको अध्यक्ष घलानले बताए ।