राक्सिराङमा नेकपाको अगुवा भेला प्रशिक्षण कार्य तिब्र पारिदै
हेटौडा (राक्सीराङ) – स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा धक्का भएपछी सेलाएको नेपाल कम्युनिष्ट पार्टी राक्सिराङ गाउँपालिका अहिले संगठन निर्माण लगायत अगुवा भेला प्रशिक्षण कार्य तिब्र पारेको छ । पछिल्लो एक महिना यता ९ वटै वडामा गएर संगठन निर्माण गरेको नेकपाले मंगलबारबाट ९ वटै वडाका संयोजक र सहसंयोजकलाई एकै ठाउँमा राखेर आवासीय प्रशिक्षण समेत सुरु गरेको छ ।
मंगलबार तिन नम्बर वडाको भेला समेत आयोजना भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी, पूर्व सांसद गोविन्दराम चेपाङ, संविधानसभा सदस्य राजाराम स्याङ्तान, जिल्ला सदस्य बनस्तम थिङ, चेपाङ मुक्ति मोर्चाका महासचिव खुसीलाल चेपाङ लगायत नेताहरु सहभागी रहेका थिए ।
बुधवार भने ९ वटै वडाका संयोजक र सह संयोजक तथा अगुवा कार्यकर्ताका लागि केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना र जिल्ला सदस्य कमान सिंह पाख्रीनले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । मंगलबारको वडा भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष एबम् प्रदेश सांसद मुनु सिग्देलले कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षा गर्दै अब जनताको आधारभूत आवश्यकता पूरा गर्नका लागि सक्रिय हुनुपर्नेमा जोड दिइन् । राजनीतिक आन्दोलनको अब आवश्यकता नरहेको भन्दै समृद्धिको बाटोमा एकढिक्का भएर लाग्न उनले कार्यकर्तालाई निर्देशन दिएकी छिन् ।
कार्यक्रममा उत्तमकुमार वाइबाको अध्यक्षतामा २९ सदस्यीय ३ नं वडा कमिटी गठन गरिएको छ । सोही भेलामा नेपाली काँग्रेस, विप्लव माओवादी, राप्रपा लगायत विभिन्न पार्टीहरु परित्याग गरी ३० जनाभन्दा बढीले नेकपामा आबद्धता जनाएका थिए ।
प्रशिक्षणमा सहभागी वडाका संयोजक र सहसंयोजकलाई राजनीतिक हिसावले तिखारेर गाउँ पठाउन लागिएको र आगामी पार्टी निर्माणको काममा समेत ध्यान दिने गरी लाग्न प्रेरित गरिएको ३ नं वडाका अध्यक्ष बाबुलाल स्याङ्तानले बताए ।