मकवानपुरका १२ सहकारी एक मर्ज हुने, चुक्ता पुँजी सवा अर्ब

तामसालिङ खबर
१२ जेष्ठ २०७६, आईतवार ११:५६

हेटौंडा – मकवानपुरमा पहिलो पटक ठूलो संख्यामा सहकारी मर्ज हुन लागेका छन् । समान उद्देश्य भएका सहकारीहरु मर्ज गर्दै सहकारीमा दोहोरो सदस्य प्रणाली हटाउने सरकारको उद्देश्यलाई सफल बनाउन मकवानपुरका १२ वटा सहकारी एक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने महिलाले चलाएका सहकारीहरु मर्ज गर्ने प्रक्रियामा सहकारी अभियन्ताहरु जुटेका छन् । मकवानपुर बचत तथा ऋण सहकारी संघ मकवानपुरकै पहलमा १२ वटा सहकारी एक हुन लागेका हुन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ , १३ ,१४, १५ र १७ का गरी १२ वटा बचत तथा ऋण सहकारीहरु मर्ज गर्नेबारे पटक पटक छलफल भइरहेको छ ।

मर्ज हुन लागेका यी सहकारीहरुको कुल पुँजी १ अर्ब १५ करोड ३८ लाख २८ हजार रहेको छ । महिला मिलन, महिला सेवा, आधुनिक महिला जागृति, महिला जागृति, महिला अभियान, महिला एकता, महिला जागरण, महिला आवाज, शुभकामना महिला, महिला जनचेतना, महिला जनशक्ति तथा भुटनदेवी महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण गर्ने बारे हेटौंडाको हटिया र रातोमाटेमा सहकारीका पदाधिकारीबीच छलफल भएको छ ।

सरकारले ल्याएको सहकारी ऐनमा एउटै ठाउँमा एकै उद्देश्यका सहकारी हुन नहुने उल्लेख गरिएकाले पनि आफूहरुले समान उद्देश्य भएका सहकारी मर्ज गर्ने काम सुरु गरिएको मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्ताले बताइन् । उनले व्यवस्थित र गुणस्तरीय सहकारी स्थापना गर्नुको साथै सदस्यहरुको दोहारोपन अन्त्य गर्ने उद्देश्यले पनि आफूहरुले सहकारी मर्ज प्रक्रिया थालेको दोहो¥याइन् ।

मकवानपुरमा हाल विभिन्न उद्देश्यका पाँचसय ६४ वटा सहकारी रहेका छन् । सहकारी विभागले सहकारी संघ–संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० निर्माण गरी मर्ज गर्ने सहकारीलाई विभिन्न सुविधा उपलब्ध गराउने उल्लेख गरेको थियो । समाचार हेटौडाबाट प्रकाशित हुने साझाकुरा दैनिकमा श्रीजना नेपालले लेखेकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*