पप्पू कन्स्ट्रक्सनलाइ कालोसूचीमा राख्ने तयारी
इटहरी – हुलाकी लोकमार्ग निर्माणको जिम्मा लिएको हरिनारायण रौनियारको कम्पनी पप्पू कन्स्ट्रक्सनको ठेक्का खारेजीमा पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय हुलाकी लोकमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पूको ठेक्का तोड्ने निर्णय गरेको हो ।
पप्पूले सम्झौता बमोजिम काम सुरु गरी बिचैमा छाडी कार्य सम्पन्न गर्नेतर्फ कुनै पनि चासो नदेखाएकाले सम्झौता खारेज गर्न लागिएको आयोजनाले जनाएको छ । पटक-पटक मौखिम जानकारी गराएको, लिखित रुपमा समेत सचेत गराउँदा समेत कार्य सम्पन्न गर्न पहल नगरेको पाइएको आयोजनाले बताएको छ ।
आयोजनाले गत वैशाख २८ गते पनि एक सार्वजनिक सूचना प्रकाशित गरी ७ दिनभित्र सम्पर्कमा आउन पप्पूलाई आग्रह गरेको थियो । तर सो समयमा समेत ठेकेदारले कुनै पनि जानकारी नगराएको तथा आयोजनाको कार्यालयमा समेत उपस्थित नभएको पाइएको छ ।
पटक-पटक आग्रह गर्दा समेत सम्पर्कमा नआएका कारण थप ७ दिनभित्र समेत सम्पर्कमा नआए पप्पूलाई कानुन अनुसार कारवाही हुने आयोजनाले जनाएको छ । सार्वजनिक खरीद ऐन २०७३ बमोजिम कालो सूचीमा राख्ने र बाँकी बक्यौता रकम असुल गर्ने योजना कार्यालय इटहरीले जानकारी दिएको छ ।