साईकल यात्री कर्ण श्रेष्ठ खोटाङदेखि देश दौडाहामा
हेटौडा – खोटाङ निवासी ३४ वर्षीय साईकल यात्री कर्ण श्रेष्ठ देश दौडाहाका क्रममा मंगलबार हेटौँडामा आईपुगे । प्रदेश नम्बर १ र २ को भ्रमण सकाएर प्रदेश ३ मा पहिलो जिल्लाका रुपमा मकवानपुरमा साईकल कुदाउँदै आईपुगेका श्रेष्ठ निकै जोशिला देखिए । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रबर्द्धन गरौँ भन्ने मेरो मुख्य उदेश्य हो’ उनले सुनाए ।
साईकल यात्रको क्रममा परिवार र विभिन्न संघसंस्थाबाट समेत सहयोग प्राप्त गरेका श्रेष्ठलाई ‘दुईटा प्रदेश यात्रा गर्दा साईकल केही भएन ?’ भन्ने प्रश्नमा उनले ‘आजसम्म केही नभएको बताए ।’
भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का श्रेष्ठले गत चैत्र ३ गतेबाट यात्रा थालेका हुन् । प्रदेश नम्बर १ का १४ जिल्ला र प्रदेश न २ को ८ जिल्लाको भ्रमण गरिसकेका उनले मकवानपुरमा पत्रकारहरुमाझ आफ्नो उदेश्य र अनुभव समेत सुनाएका थिए ।
प्राकृतिक स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न सके मुलुकलाई नै फाईदा पुग्ने श्रेष्ठको धारणा छ । प्राविधिक शिक्षा तथा रोजगारमूलक शिक्षा लागू गर्नसके आफै आत्मनिर्भर भएर परजीवी हुन नपर्ने उनले बताए । नीजि र सामुदायिक क्याम्पस तथा विद्यालयहरूमा पढाइने पाठ्यक्रम समान हुनु भन्दै हाल स्थानीय तहबाट भ्रष्टाचारमुक्त समाजको निर्माण र पर्यटनको प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए ।
भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश १ बाट शुरु भएको साइकल यात्रा ७ वटै प्रदेशको ७७ वटै जिल्लाका विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्याल, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, क्याम्पस तथा विद्यालयहरूमा पुगि अभियानको बारेमा जानकारी गराउने श्रेष्ठले जानकारी दिए ।