भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने पक्का
एजेन्सी – संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भारतमा लोकसभा चुनाव सकिएको छ। सात चरणमा भएको मतदान आइतबार साँझ सकिएको हो। भारतमा सम्पन्न लोकसभा चुनाव लगत्तै विभिन्न प्रकारका अनुमान सार्वजनिक गरिएको छ ।
मतदान सकिएसँगै विभिन्न सञ्चारमाध्यम र संस्थाहरूले गरेको मत सर्वेक्षणका नतिजा सार्वजनिक भएका छन्। ती मत सर्वेक्षणले सवा अर्ब जनसंख्या भएको भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने देखाएका छन् किनकी २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स (एनडिए)ले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना बढेको छ।
अप्रिल ११ देखि सुरु भएको चुनाव विभिन्न ७ चरणमा भएको थियो । कुल ५ सय ४२ सिटका लागि भएको चुनावमा प्रस्ट बहुमत ल्याउनका लागि २ सय ७२ सिट चाहिन्छ । मोदी नेतृत्वको गठबन्धनले प्रस्ट बहुमत ल्याउने एक्जिट पोल सार्वजनिक भएको छ । मतगणना भने २३ तारेखमा हुनेछ ।
विभिन्न एजेन्सी र सञ्चार माध्यमले गरेका अनुमान अनुसार फेरि एक पटक वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नेतृत्व लिने भएका छन् । उनको पार्टी भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले ३ सय भन्दा धेरै सिट जित्ने अनुमान गरेको छ ।
त्यस्तै जनताको बोलीका अनुसार बिजेपी नेतृत्वको गठबन्धनले ३ सय ५ र काँग्रेस नेतृत्वको गठबन्धनले १ सय २४ ल्याउने उल्लेख छ । भारतका विभिन्न सहरमा गरिएको एग्जिट पोलमा नरेन्द्र मोदी फेरि एक पटक भारतको प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।
एनडिएमा भाजपासँगै शिव सेना, शिरोमणि अकाली दल, लोक जनशक्ति पार्टीलगायत पार्टी छन् । पाँच वर्षअघि भाजपाले २६७ सिट पाएको थियो भने गठबन्धनले २८२ सिट जितेको थियो । त्यतिबेला कंग्रेस आई ४४ सिटमा खुम्चिएको थियो। कंग्रेसले बनाएको युनाइटेड प्रोग्रेसिभ अलाइन्सले ६९ सिट पाएको थियो।