गुणस्तरीय टेलिकम सेवा नभएको उपत्यका

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार ०८:५५

काठमाडौं : उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा यस्तो फेला परेको हो । प्राधिकरणले उपत्यकामा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका छन् ।

प्राधिकरणले ललितपुर जिल्लामा गरेको ड्राइभ टेस्टको नतिजा आइतबार सार्वजनिक गरेको छ । ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकको तथ्यांक संकलन गरिएको हो ।

यसमा कुनै एक स्थानमा उपलब्ध सबै सेवा प्रदायकको गुणस्तरमापन एकसाथ गरिन्छ । हरेक सेवा प्रदायकको कुनै एक स्थानमा उपलब्ध नेटवर्क (फोरजी, थ्रीजी र टूजी) मध्ये सर्वाधिक अनुकूल नेटवर्क स्वचालितरूपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिन्छ ।

यसअघि प्राधिकरणले पहिलोपटक काठमाडौंमा र त्यसपछि भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा टेलिकम कम्पनीको गुणस्तर परीक्षण गरेको थियो । हालसम्म भएको परीक्षणमा सबै मोबाइल सेवा प्रदायक कम्पनी गुणस्तरीय सेवा दिन असफल भएका छन् ।

ललितपुरमा भएको कल परीक्षणमा नेपाल टेलिकम, एनसेल र स्मार्ट तीनवटै कम्पनीको कल स्थापना हुन लाग्ने समय र सफलतादर नकारात्मक रहेको भेटिएको छ।

प्राधिकरणले कल स्थापना हुन लाग्ने समय ५ सेकेन्डभन्दा कम र दर ९९ प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने भनी मापदण्ड राखेको छ। तर, तीनवटै कम्पनीको आफ्नै नेटवर्कभित्र पनि सोभन्दा दोब्बर समय लागेको देखिएको छ । रञ्जनहरि कोइरालाले अन्नपुर्ण पोस्टमा समाचार लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*