गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

तामसालिङ खबर
१३ बैशाख २०७६, शुक्रबार ०८:०५

चितवन – चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो।

मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेका छन्। उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ। ‘कालोपत्र निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ’, उनले भने, ‘यहाँको माटोमा त्यो गुण भेटियो।

माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन्। कालोपत्रका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ।’ उनले केही दिनसम्म चितवनमा नै बसेर रङ्गशालामा बन्ने क्रिकेट कालोपत्रका प्रारम्भिक काम अघि बढाउने छन्।

सीताराम कट्टेलका अनुसार डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इएआई) को काम सँगसँगै बढाइएको छ। रङ्गशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, रङ्गशाला निर्माण कार्यालय भवन, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण भइसकेका छन्। रङ्गशाला निर्माण गर्न हालसम्म करीब ८० लाख रुपैयाँको खर्च भएको छ।

जेठ महीनासम्ममा ५० करोड रुपैयाँ सङ्कलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए। हालसम्म छ करोड रुपैयाँ सङ्कलन भएको फाउण्डेसनले जनाएको छ।

कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु गरिने बताए । आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए।

नागरिकको सहयोगमा निर्माण गर्न लागिएको रङ्गशालाको निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ। अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ। कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा छ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*