सुरक्षाको सवालमा गम्भीर हुदै तिन नम्बर प्रदेशस्तरिय सुरक्षा गोष्ठी

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार ०९:०४

हेटौडा – गृह मन्त्रालयको आयोजनामा तिन नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी मंगलबार देखि हेटौंडामा सुरु भएको छ । सुरक्षाका सम्बन्धमा देखापरेका समस्या र चुनौतीका विषयमा जानकारी गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताएको छ ।

नेपाली सेना बाहेक नेपाल सरकारका सुरक्षा निकायका प्रमुख आईजीपीहरुले सुरक्षाका विषयमा प्रस्तुतिकरण गरेका छन् । गृह मन्त्रालय, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, गृह मन्त्रालय अन्तर्गत् विपद् तथा द्वन्द्व व्यबस्थापन महाशाखाका गरी सात वटा प्रस्तुतीकरण भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा दिनभर प्रस्तुतिकरण र अपराह्न खुला सत्रमा छलफल, अनुभव आदानप्रदान लगायत भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

दुई दिन चल्ने सुरक्षा गोष्ठीमा बुधबार गृहमन्त्री रामबहादुर थापा, तिन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, गृह सचिव प्रेमकुमार राई, प्रदेश प्रमुख सचिव आनन्दराज ढकाललगायतको सहभागिता हुनेछ । औपचारिक कार्यक्रम उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्नेछन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपद प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख तथा सेनाका जिल्लास्तरका प्रमुख गरी ६५ जनाको सहभागिता छ । संघीय सुरक्षा निकाय प्रमुख, प्रदेशस्तरका सुरक्षा निकाय प्रमुखको कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ तामाङले बताए ।

विभिन्न राजनीतिक दल र समुहको आवरणमा हुने अवाञ्छित गतिविधि, सीमा अपराध र शान्तिसुरक्षालाई प्रभावित पार्ने कुनै गतिविधि निस्तेज पार्न सुरक्षा गोष्ठीले स्पष्ट कार्ययोजना बनाउने बताइएको छ ।

सरकारी कार्ययोजना र निर्देशन कार्यान्वयनको अबस्थाबारे पनि यहाँ छलफल हुनेछ । जिल्ला र प्रदेशस्तरबाट समाधान गर्न सकिने समस्या र चुनौती औंल्याएर समाधानका लागि एकीकृत अवधारणा बनाउन पनि गोष्ठीले सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्रा.डा. इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका निर्देशक गणेश अधिकारी, मध्यपृतना हेडक्वार्टर हेटौंडाका पृतनापति उपरथी सुवर्णबहादुर शाह, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सहसचिव इन्दु घिमिरेलगायतको सहभागिता छ । आजको हेटौंडा सन्देश दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*