सहमति कार्यन्वयन नभएको भन्दै सिठ्ठी बजाउँदै सडकमा विद्यार्थी
हेटौडा – सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडक आन्दोलन सुरु गरेका हुन् ।
हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका गरी करिब डेढ सय भन्दा बढी विद्यार्थीले सडकमा सिठ्ठी बजाएर नाराबाजी गरेका छन् । हेटौंडाको सीमा चोकमा कोण सभा गरी सिठ्ठी आन्दोलन समापन गरिएको संयुक्त विद्यार्थी मकवानपुरले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा गत फागुन २७ गते भएको सहमतिको हुबहु कार्यान्वयन हुनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलनरत छन् । वीरगञ्ज–हेटौंडामा सडकखण्डमा चल्ने यातायातहरुले समेत विद्यार्थीलाई छुट नदिने गरेको विद्यार्थीहरुको गुनासो छ ।