मनहरीमा ३५ जना नेकपामा प्रवेश
हेटौडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ३५ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश भएका छन् ।
मनहरी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रममा ३५ जना नेपाली काँग्रेस तथा विप्लव नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले नेकपा नै अब जनताको आशा र भरोसाको केन्द्र रहेको बताए । अहिले पार्टी एकताको चरणमा रहेको भन्दै उनले निराश नभई अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिए । प्रदेशसभा सदस्य मुनु सिग्देलले समावेशी चरित्रको निर्माण र विकासका लागि नेकपाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा सांसद ओमबहादुर ग्लान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, नेकपाका जिल्ला नेताहरु बद्रीप्रसाद लम्साल, राजाराम स्याङतान, रामहरि सुवेदी, ३ नं वडाध्यक्ष मानबहादुर स्याङ्तान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।नवप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।