प्रतिपक्ष दल तयार भए अध्यादेशमार्फत शिक्षा ऐन ल्याउने: शिक्षामन्त्री पोखरेल
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहमति जनाए ‘सङ्घीय शिक्षा ऐन’ छोटो बाटोबाट ल्याउन आफू तयार रहेको बताउनु भएको छ ।
सोमबार ललितपुरमा नेपाल अभिभावक महासंघको घोषणा सभामा बोल्नु हुदै उहाँले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने भएकाले प्रतिपक्ष दल तयार भए अध्यादेशबाट ल्याउने बताउनुभयो ।
राष्ट्रिय शिक्षा नीति पास भएपछि शिक्षा ऐन बनाउने, सरकारले उच्चस्तरीय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने मन्त्री पोखरेलले गराउनुभयो । आगामी वैशाखदेखि देशभरिका शैक्षिक संस्थामा एउटै खालको शैक्षिक क्यालण्डेर समेत लागू गरिने बताउनुभयो ।
‘ठीक समयमा पढाइ, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि देशभरि नै एउटै शैक्षिक क्यालेण्डर लागू गरिने छ’’ उहाँले भन्नुभयो,‘‘शिक्षासँग सम्बन्धित अन्य संस्थालाई समेत हामीले क्यालेण्डरलाई प्रभावित गर्ने खालका कार्यक्रम नगर्न आग्रह गरेका छौ ।’’
उहाँले सरकारले प्राविधिक शिक्षालाई जोड दिँदै आएको उल्लेख गदै आउने शैक्षिक सत्रमा सबै प्रदेशका केही सामुदायिक विद्यालयमा प्राकृतिक चिकित्सा, जडीबुटी र आयुर्वेदिक शिक्षा पढाइने बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ, प्राविधिक शिक्षा अभिभावक संघ, दृष्टिविहीन अभिभावक संघ नेपाललगायतका घटक सस्थाहरु संगठित भै महासङ्घ घोषणा गरिएको छ । महासंघको संयोजकमा सुप्रभात भण्डारी र धर्मदत्त देवकोटा रहेको छ । महासंघको ३६ सदस्यीय तर्दथ समिति, १० सदस्यीय सचिवालय र चार सदस्यीय स्थायी समिति बनाइएको छ ।