काठमाडौंमा बर्डफ्लुको आतंक काग मरे, कुखुरामा पनि फैलँदै

तामसालिङ खबर
२४ चैत्र २०७५, आईतवार ०९:५९

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको नयाँ पत्रिकामा खबर छ ।

‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच ५ एन१ पोजेटिभ देखियो,’ प्रदेश ३ का वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले भने । नेपालमा बर्डफ्लु संक्रमणबाट काग मरेको पहिलोपटक पुष्टि भएको चिकित्सकहरूले बताएका छन् । पशु विकास अधिकृत श्रेष्ठले परेवा, भँगेरामा कुनै समस्या नदेखिएको, तर कागमा बर्डफ्लु पोजेटिभ देखिएपछि सतर्क अपनाइएको बताए । उनका अनुसार पशु सेवा विभागले मृत काग नष्ट गरिसकेको छ ।

टोखा क्षेत्रमा केही समयअघि कुखुरामा बर्डफ्लु देखिएको र फालेका कुखुरा खाँदा कागमा सरेको हुन सक्ने अनुमान पशु चिकित्सकको छ । श्रेष्ठले बर्डफ्लु कुखुरा र कागबाट मानिसमा सर्ने सम्भावना बराबर हुने बताए ।

कागमा बर्डफ्लु देखिएपछि सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले थप सजग रहन सबैलाई आग्रह गरेका छन् । दधिकोटको तर्खालका सञ्जीव बुढाथोकीले सञ्चालन गरेको फर्ममा रहेका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठ नेतृत्वको टोलीले सो संख्याका कुखुरा नष्ट गरेको हो ।

अहिले सो क्षेत्रमा भाइरस नियन्त्रणको प्रयास भइरहेको विभागका सूचना अधिकारी डा। चन्द्र ढकालले बताए । फर्म आसपासको क्षेत्रमा रहेका अन्य फर्महरूमा समेत ल्याब परीक्षण भइरहेको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*