बारा पर्सामा खतरनाक आँधी ‘टोर्नाडो’ आएको विज्ञहरुको पुष्टि

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार ०९:३०

बारा– गत आइतबार बारा र पर्सामा विध्वंश मच्चाउने वर्षासहितको ‘टोर्नाडो’ नामक आँधीबेहरी आएको विज्ञले बताएका छन् ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको एक टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक टोर्नाडो आएको पुष्टि गरेको हो ।

उनले ४६ वर्ष मौसम क्षेत्रमा काम गरेपश्चात् नास्टको प्राज्ञ नियुक्त भई अध्ययन गरिरहेका छन् । श्रेष्ठले भने, ‘टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, जहाँ छुन्छ, त्यहाँ पूरै विनाश गर्छ, बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् ।’

सुरुमा आँधीबेहरी भनेर पूर्वानुमान गरिए पनि त्यसभित्र पनि उच्चतम जोखिम भएको मौसम प्रणाली विकास हुँदा टोर्नाडो बन्छ । उनका अनुसार, टोर्नाडो आउँदा सुख्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधीको सिर्जना हुन्छ । त्यसले फैलिएको आकारबाट खुम्चिदै तल सानो क्षेत्रमा कडा भार सिर्जना गर्छ ।

उनले भनेजस्तै बारामा वर्षेको विपत्तिले स्थानीयका पक्की घरसँगै रूख, ठूला सवारी साधन, भौतिक संरचना सबै उखेल्ने, उडाउने र सोहोरेर लगेको छ । भूउपग्रहबाट लिइएका तस्बिरको अध्ययन गर्दैगर्दा सेन्टिनियल नामको भूउपग्रहले त्यो बेला नेपालको बारा, पर्सामा विपत्तिको भोलिपल्ट १० मिटर उचाइँबाट खिचेका तस्बिरको अध्ययनपश्चात् ‘टोर्नाडो’ नेपालमा आएको पुष्टि भएको उनले बताए।

यो भूउपग्रह हरेक पाँच दिनमा नेपालको आकाशमा आइपुग्ने गर्छ । फोटो हेर्दा जहाँ जहाँ त्यो टोर्नाडोले छोएको छ, त्यहाँ त्यहाँका संरचना बिगार्दै आफ्नो बाटो बनाउँदै गएको प्रस्ट देखिन्छ । टोर्नाडोले आफू हिँड्ने बाटो बनाउँदा सबैभन्दा बढी बाराको फेटा गाउँपालिकास्थित मानव बस्तीमा ठूलो धनजनको क्षति पुगेको पनि तस्बिरमा प्रस्ट देखिन्छ ।

फेटा गाउँपालिका क्षेत्र भएर करिब ३० किलोमिटरको क्षेत्रलाई यसले बाटोका बनाएर अघि बढेको तस्बिरमा प्रस्ट देखिएको उनले बताए । उनका अनुसार, यात्रामा जे भेट्यो, सबै क्षतिग्रस्त बनाएको पनि देखिएको थियो । विज्ञ श्रेष्ठले भने, ‘अझ स्पष्ट देखिन अमेरिकाको भूउपग्रहले खिचेको तस्बिर किन्नुपर्छ, त्यसका लागि प्रक्रिया सुरु गरेर पत्र पठाएका छौँ ।’

सरकारले अनुरोध गरेमा त्यो तस्बिर निःशुल्क पनि प्राप्त गन सकिन्छ । एक मिटरको दूरीबाट खिचिएका ती तस्बिरले कसरी टोर्नाडोले क्षति ग¥यो भन्ने पूर्ण निर्क्योल हुनेछ । जल तथा मौसम विज्ञान विभागमा जस्तै नास्टमा पनि मौसमको अध्ययन गर्ने छुट्टै शाखा छैन । तथापि जलवायु तथा वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था द स्मल अस नेपालका अध्ययनकर्तासँग मिलेर उनले अध्ययन गरेका थिए ।

बुधबार रातभरि बसेर निर्क्योल गरिएको टोर्नाडोको बारेमा बिहीबार विभागमा मौसमविद् तथा सरोकारवालासँग छलफल भएको थियो । विभागका महानिर्देशक सरजुकुमार वैद्य, मौसम पूर्वानुमान महाशाखाका निमित्त प्रमुख सुमनकुमार रेग्मी, मौसमविद् जगदिश्वर कर्माचार्यसहित टोर्नाडोका बारेमा छलफल भएको थियो ।लगत्तै विभागले थप अध्ययनका लागि डा। अर्चना श्रेष्ठको नेतृत्वमा नामीहाङ किराँत, सुजन सुवेदी सहितको चार सदस्यीय एक टोली बारा र पर्सा पठाएको छ ।

टोलीले आफैं हिँडेर र ड्रोनमार्फत प्रमाण सङ्कलन गरिरहेको संयोजक श्रेष्ठले बताउनुभयो । ‘ड्रोनबाट दुईवटा क्षेत्रको काम सकियो, अब छवटा क्षेत्रको काम भइरहेको छ, उनले प्रस्ट्याए,“टोर्नाडोले बाहेक अरुले यस्तो क्षति गर्नसक्दैन तथापि त्यस्तै खालका अन्य आँधीले गर्नसक्ने क्षतिसँग मूल्याङ्कन गर्न अध्ययन थालिएको हो।”

औपचारिक पुष्टिसहित सार्वजनिक गर्न भने अझै केही दिन लाग्ने विभागले जनाएको छ । फेरि यस्तै विपत्ति आउन सक्ने भएकाले सरकार चनाखो भएर तत्काल थप अध्ययन थाल्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । पालका काम गरिरहेका र पुराना विज्ञको राम्रो उपस्थिति रहेकाले त्यसको उपयोग गरी भविष्यमा मानव क्षतिसँगै राज्यको सम्पत्ति तथा पूर्वाधार जोगाउन सकिने विज्ञ श्रेष्ठले औँल्याए । याे खबर गाेरखापत्रमा चाँदनी हमालले लेखेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*