अधिकांश स्थानमा आइतबारसम्म हुरीबतास हुने अनुमान, सचेत रहन मौसमविद्को आग्रह

तामसालिङ खबर
२३ चैत्र २०७५, शनिबार ०८:२७

काठमाडौ– नेपाली आकाशमा मल्टिपल अर्थात् संयुक्त प्रणालीको प्रभाव देखिएपछि मौसममा खराबी आएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव देखिएको छ । जसका कारण शनिबार मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् पोखरेलका अनुसार तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान आंशिक बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन आह्वान गरिएको छ । यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ ।

यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ ।- राजधानी दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*