बागमतीलाई हराउँदै मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौंडा । मछिन्द्र क्लब सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १-० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेको हो ।
मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछी रेफ्रीले पेनाल्टी दिएको थियो । त्यस मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेको हो । खेलको म्यान अफ द म्याच भने मछिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवाक्वाटरफाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्र वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो । मछिन्द्र गत संस्करणको विजेता टोलि हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।