मकवानपुर उद्योग वाणिज्य संघमा अग्रवालद्धारा अध्यक्षको उम्मेदवार घोषणा
हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् । आईतबार सचिवालय उद्घाटन सँगै उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवार रहेको घोषणा गरेका हुन् ।
अग्रवालका आमा रमेदेवी अग्रवालले रिवन काटेर सचिवालयको उद्घाटन गरेकी थिईन् । उद्घाटनसँगै उम्मेदवार अग्रवालले उपस्थिती भएका उद्योगी व्यवसायीलाई सम्बोधन गर्दै सबैको साझा समस्यामा आफु सधैं उभिने प्रतिवद्धता व्यक्त गरेका थिए । सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी निर्वाचनमा अध्यक्ष पदमा मतदान गरी सहयोग गर्न उनले आग्रह गरेका छन् ।
उनले टिमको प्रतिवद्धता र पूर्ण टिमको घोषणा छिट्टै गरिने बताउँदै उद्योगी र व्यवसायीको हकहितमा आफु सदैव लाग्ने बताए । संघमा आमन्त्रित सदस्य हुँदै समितिमा प्रवेश गरेका अग्रवाल दुई पटक कार्यसमिति सदस्य र दुई पटक सह कोषाध्यक्ष हुँदै एक पटक कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरेका छन् । हाल उनी संघको वरिष्ठ उपाध्यक्ष हुन् । वाणिज्य तर्फको उपाध्यक्षमा निर्वाचित भई अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उनलाई वरिष्ठ उपाध्यक्ष बनाएका थिए ।
१७ वर्षदेखी संघमा रहेर काम गरिरहेका अग्रवाल कपडा व्यवसायी हुन् । व्यवसायी मात्र नभई उनले विभिन्न सामाजिक क्षेत्रमा पनि लगानी गर्दै आइरहेका छन् । लायन्स, जेसीज, सहकारी, स्वास्थ्य लगायत क्षेत्रमा सक्रिय रहेका अग्रवालले उम्मेदवारी घोषणा गर्दै तीन तहकै सरकारसँगको सहकार्य र समन्वय गरी व्यवसायीको पक्षमा वकालत गरिने बताए ।