उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष पदमा प्रमोद सिंह रानाभाटको उम्मेदवारी घोषणा

तामसालिङ खबर
१९ मंसिर २०८१, बुधबार १५:३३

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले संघको अध्यक्ष पदका लागि औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार हेटौँडाको पल्पसा रोडस्थित एक कार्यक्रममार्फत रानाभाटले आफ्नो उम्मेदवारी घोषणा गर्नुका साथै नयाँ सचिवालयको उद्घाटन गरेका छन्। सचिवालय उद्घाटनको उनका पिता डम्बर बहादुर रानाभाटले रिबन काटेर औपचारिक उद्घाटन गरे ।

सचिवालय उद्घाटन कार्यक्रममा उपस्थित व्यावसायी तथा संघका सदस्यहरूमाझ बोल्दै प्रमोद सिंह रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि आफ्नो सक्रिय भूमिका रहने प्रतिवद्धता जनाए । उनले व्यवसायीका समस्याहरूको सम्बोधन गर्दै संस्थालाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

रानाभाटले कार्यक्रममा भने, “संघको नेतृत्व व्यवसायी नै गर्नुपर्छ। हामीले व्यवसायीका हकहितका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्छ। संघलाई समृद्ध र प्रभावकारी बनाउन म निरन्तर क्रियाशील रहनेछु ।”

प्रमोद सिंह रानाभाट अहिले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा निर्वाचित रानाभाटले संघको विभिन्न गतिविधिहरूमा योगदान पुर्याउँदै व्यावसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाएका छन् । उनी लामो समयदेखि मकवानपुरको व्यवसायी समुदायसँग निकट रहेर काम गर्दै आएका छन् । संघलाई व्यवस्थित र आर्थिक गतिविधिमा थप प्रभावकारी बनाउने योजनाका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए।

सचिवालय उद्घाटन र उम्मेदवारी घोषणा कार्यक्रममा मकवानपुरका विभिन्न व्यवसायीहरूले रानाभाटको कदमको समर्थन गर्दै उनलाई आगामी अध्यक्षको रूपमा स्वीकार्न तयार रहेको जनाएका छन् । स्थानीय व्यवसायी र सदस्यहरूले रानाभाटको नेतृत्व क्षमताको प्रशंसा गर्दै व्यवसायीका समस्याहरू समाधान गर्न उनी उपयुक्त उम्मेदवार भएको बताएका छन् ।

रानाभाटको उम्मेदवारीसँगै मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । संघको नेतृत्वका लागि प्रतिस्पर्धी उम्मेदवारहरूको पनि चासो बढ्दो छ ।

मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारण सभा तथा निर्वाचन पुष २४ देखी २७ गते हुने छ । व्यवसायीक हकहितको पैरवी गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न रानाभाटको उम्मेदवारीलाई महत्त्वका साथ हेरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*