मकवानपुर खेलकुद समितिको अध्यक्षमा मोक्तान

तामसालिङ खबर
२७ असार २०८१, बुधबार १४:३७

हेटौंडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे । उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन् । उनले गाउँ-गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए ।

नयाँ समितिको कार्यकाल चार वर्षको हुनेछ, जुन यसअघिको दुई वर्षबाट बढाइएको हो । उल्लेखनीय छ, मकवानपुर जिल्ला खेलकुद विकास समिति गत चैतदेखि अध्यक्षविहीन थियो र चार महिनापछि नयाँ अध्यक्ष पाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*