राप्तीमा तामाङ भाषामा पढाउनका लागि शिक्षकहरुलाई ५ दिने प्रशिक्षण

तामसालिङ खबर
२१ जेष्ठ २०८१, सोमबार १९:४१

भण्डारा । चितवनको राप्ती नगरपालिकाका बिद्यालयहरुमा अब तामाङ मातृभाषामा पठनपाठन गरिने भएको छ । तामाङ बिद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा यसै शैक्षिक सत्रदेखि नै तामाङ मातृभाषामा पठनपाठन गर्नका निम्ति तयारी थालिएको छ ।

तयारीस्वरुप नगरपालिकाले विभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई पाँच दिने तामाङ मातृभाषा प्रशिक्षण दिइएको हो । बैज्ञानिक र गुणस्तरिय शिक्षाका लागि मातृभाषा शिक्षा भन्ने अभियानका साथ भएको प्रशिक्षणको सोमबार नगर प्रमुख शमशेर लामाले समापन गर्नुभयो ।

समापन समारोहमा बोल्दै लामाले तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयका तामाङ तथा गैर तामाङ शिक्षकलाई मातृभाषाको प्रशिक्षण दिइएको बताउनुभयो ।

नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडाका बिद्यार्थीलाई नेपाली भाषा बुझ्न कठिन हुने उहाँको भनाई छ । बिद्यार्थीको मातृभाषामै पठनपाठन हुँदा सिकाइमा प्रभावकारिता हुने र बालबालिकाको क्षमता बृद्धि हुने उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख देबेन्द्र लामाले भाषा सँस्कृति र पहिचानबारे बालबालिकालाई बुझाउन आवश्यक रहेको बताउनुभयो । राज्यका कानुन र समाजिक विभेदका कारण तामाङ भाषा तथा पहिचान खुम्चिन पुगेको बताउँदै उहाँले अबको पुस्तालाई बिद्यालयदेखि नै यसबारे सिकाउन सुरुवात गरिएको बताउनुभयो ।

नगरपालिका भित्रका दुई दर्जन शिक्षक तथा सरोकारवालाका निम्ति तामाङ भाषा, लिपि तथा पाठ्यक्रमबारे प्रशिक्षण दिइएको हो । पाँच दिनसम्म सन्चालन भएको प्रशिक्षणमा तामाङ लिपि तथा भाषाविज्ञ प्रतिक ङेसुरले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षण नेपाल तामाङ घेदुङ राप्ती नगर समितिको समन्वयमा भएको हो ।

प्रशिक्षणसँगै बिद्यालयहरुमा पठनपाठन सुरुवात गर्न कक्षा १ को मातृभाषाको पाठ्यपुस्तक प्रकाशन गर्ने तयारी नगरपालिकाले गरेको छ । तामाङसँगै चेपाङ बिद्यार्थीको बाहुल्यता रहेको बिद्यालयमा चेपाङ मातृभाषामा पनि पठनपाठन गर्ने नगरको योजना छ । नगरपालिकामा जम्मा ४९ वटा सामुदायिक बिद्यालयहरु रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*