बागमतीमा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया सुरु : मनोनयन दर्ता शुक्रवार, शनिवार निर्वाचन हुने
राजकुमार के.सी.
हेटौंडा । ०४ जेष्ठ/बागमती प्रदेशको संसदीय समितिहरूको सभापति चयनको प्रक्रिया सुरु भएको छ ।
बिहीवार निर्वाचन कार्यतालिका प्रकाशन संगै आज शुक्रबार मनोनयन प्रस्ताब दर्ता गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयका प्रबक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
सबै समिति सभापति पदको लागि मनोनयन दर्ता समय दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्धारण गरिएको सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची- ३ बमोजिम समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सम्बन्धित समिति कै अर्का सदस्यको समर्थनमा मनोनयन प्रस्ताव दर्ता गराउने ब्यवस्था रहेको छ ।
बिहीबार प्रकाशन भएको मतदाताको अन्तिम नामावलीमाथि दाबी विरोध, उम्मेदवारमाथिको दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन प्रक्रियाको समय समिति अनुसार फरक-फरक निर्धारण गरिएको गुप्ताले बताउनुभयो ।
सर्वसम्मत रुपमा सभापति चयन गर्ने दलहरुको प्रयास असफल भएपछि सभापति चयन निर्वाचनमार्फत् हुने गरी प्रक्रिया अघि बढेको हो । निर्वाचन कार्यतालिका अनुसार भोली शनिबार मतदान हुनेछ ।
प्रदेश सभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति गरी पाँचवटा विषयगत समिति रहेका छन् ।
निर्वाचित समितिका सभापतिहरूको शपथग्रहण कार्यक्रम जेठ ६ गते बिहान १०:३० बजेलाई निर्धारण गरिएको छ । उक्त समितिको बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।