तामाङ समुदायको आज सोनाम ल्होछार, विश्वभर विविध कार्यक्रम गरि मनाइदै
माघ, हेटौडा – तामाङ समुदायले साँस्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।
चन्द्र मासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले बिरालो (ह्योई ल्हो) वर्षलाई विदाई गरी गरुड (डुक/ मु पुखी) वर्षलाई स्वागत गरेका छन् । यो २८६० सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
हिजोबाट नै ल्होछार सुरु भएपनि आज मुख्य दिन हो । आज घर-घरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिने भएको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको हेटौडामा आज शनिबार सोनाम ल्होछार महोत्सब हुँदै छ। त्यस्तै आजै पश्चिम मकवानपुरको पाँचौ मनहरी महोत्सबमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै छ। ल्होछार मय बनाउनको लागि चर्चित कलाकार सन्जिब वाइबा, मार्मिक लामा, अन्जु थोकर, रबिन चेपाङ्ग, लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। साङ्ग छ्योइफेल गुम्बा बुद्ध शान्ति हरित पार्क परिसरमा आजै ल्होछार मेला हुँदै छ । उत्तरी थाहा नगरको पालुङ्गमा नेपाल तामाङ्ग घेदुङ्ग थाहा नगरको आयोजनामा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुँदै छ। कैलाश गाउँपालिकाको बैकुण्ठमा पनि ल्होछार बिशेष सास्कृतिक कार्यक्रम शुक्रबार देखि शुरु भएको छ उक्त ल्होछार कार्यक्रम आज सम्म चल्ने छ।
मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले ३ दिन, इन्द्रसरोबर गाउँपालिकाले ३ दिन र बागमती गाउँपालिकाले २ दिन बिदा दिएको छ। ल्होछारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बिभिन्न राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।
नेपालका तामाङ सहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।