पाँचौ मनहरी महोत्सब भब्य उद्घाटन (फोटो फिचर)

तामसालिङ खबर
१६ माघ २०८०, मंगलवार २१:०६

माघ, हेटौडा (मनहरी) – पाँचौ संस्करणको मनहरी महोत्सब मनहरी खोला किनारमा भब्य समारोहका बीच उद्घाटन भएको छ । माघ १६ गते मंगलबार देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवको बागमती प्रदेशका सांसद एबम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले मनहरीमा आयोजना भएको महोत्सवले स्थानीय उत्पादनहरुको प्रबर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । ‘यहाँको पर्यटन विकासका लागि रमौली प्रतापपुर क्षेत्रलाई मिनी सौराहको रुपमा विकास गर्ने कुरा, मनहरी बजार जोगाउनका लागि तटबन्धन निर्माण गर्ने बिषयहरु मेरो जानकारीमा छ’, उहाँले भन्नुभयो–‘मैले दुबै कामलाई एकसाथ अघि बढाउनेछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पश्चिम मकवानपुरको पहिचान प्रदर्शन गर्नका लागि महोत्सव निकै उपयोगी भएको बताउनुभयो । राक्सिराङ गाउँपालिकाले सञ्चालन गरिरहेको हाट बजारको प्रसंग समेत जोड्दै उहाँले स्थानीय उत्पादनको प्रबर्द्धन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने कार्यका लागि महोत्सव फलदायी हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघ हेटौँडाका अध्यक्ष कृष्ण कुमार गुप्ता, मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी रेखा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, राजनीतिक दलका तर्फबाट प्रकाश बर्ताैला लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

उदघाटन कार्यक्रम अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट विभिन्न संघसंस्था, धार्मिक र जातीय प्रतिष्ठानहरु, शैक्षिक प्रतिष्ठान लगायतले आफ्नो पहिचानसहितको झाँकी प्रदर्शन गर्दै शोभायात्रा निकालेका थिए ।

८ नं वडा कार्यालयबाट सुरु भएको शोभायात्रा मनहरी बजार हुँदै रिभर साइडको बाटो भएर महोत्सवस्थल पुगेको थियो । महोत्सवमा स्थानीय उत्पादनका साथ १ सय ५० वटा स्टलहरु रहेका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिको आयोजनामा भएको महोत्सवमा मनहरी गाउँपालिका संरक्षक रहेको छ भने राक्सिराङ र कैलाश गाउँपालिका सहआयोजकको रुपमा रहेको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र संयोजक गणेशमान मानन्धरको अध्यक्षतामा महोत्सव उद्घाटन कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*