पाँचौ मनहरी महोत्सबको तयारी पुरा, बागमती प्रदेशका संसद बानियाँले उद्घाटन गर्ने
माघ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको व्यापारिक केन्द्र मनहरीमा भोलि देखि हुने पाँचौ संस्करणको मनहरी महोत्सबको तयारी पुरा भएको छ। मनहरी पुलको उत्तरी क्षेत्रको बगरमा रहेको महोत्सब स्थलमा सोमबार साँझ पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति तथा महोत्सब व्यबस्थापन समितिका संयोजक गणेशमान मानन्धरले बताउनुभयो।
संयोजक गणेशमान मानन्धरका अनुसार महोत्सवको उदघाटन पूर्व गृहराज्यमन्त्री एबम् बागमती प्रदेश सांसद इन्द्रबहादुर बानियाँले गर्नु हुनेछ । उद्घाटन अघि मनहरी गाउँपालिका ८ नं वडा कार्यालयबाट मंगलबार बिहान ११ बजे शोभायात्रा गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । महोत्सवमा ३० वटाभन्दा बढी स्थानीय व्यवसायी, व्यापारी र प्रदर्शकहरुले बुकिङ गरेको स्टल संयोजक शिवशंकर स्याङ्तानले बताउनुभयो ।
महोत्सवमा १ सय ५० वटा स्टल राखिएको आयोजकले जनाएको छ । भोलि माघ १६ गते देखि २८ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय र स्थानीय सबै कलाकारहरुको तय गरिएको र स्थानीय स्तरमा लोकदोहोरी प्रतियोगिता, नृत्य लगायतका क्रियाकलापहरु दैनिक रुपमा हुने आयोजकले जनाएको छ । महोत्सवमा चेपाङ, तामाङ, बनकरिया समुदायको जीवनशैली झल्कने स्टलहरु प्रदर्शनीमा रहने आयोजकले जनाएको छ।
महोत्सवलाई ६० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका सभापति मानन्धरले बताउनुभयो । महोत्सवको संरक्षकमा मनहरी गाउँपालिका रहेको छ भने सह आयोजकमा राक्सिराङ र कैलाश गाउँपालिका रहेको छ ।
५ बर्षको अन्तरालमा हुन लागेको महोत्सवमा टिकट शुल्क ७० रुपियाँ र विद्यार्थी सहुलियत शुल्क ३५ रुपियाँ तोकिएको समितिका महासचिव पदमबहादुर तितुङले जानकारी दिनुभयो ।
मनहरीको पहिचान तामा र माछा
महोत्सबमा मनहरी पहिचानको रुपमा परिचित तामा र माछाको पारखीहरुलाई स्वाद चखाउने तयारी गरिएको छ । मनहरी गाउँपालिका ४ मा रहेको भिजन अफ मकवानपुर एग्रिकल्चर प्रा.लि.ले तामा र माछाको स्वाद दिलाउने गरी स्टल राखेको छ ।
स्टलमा जिउँदो माछा समेत राखिनेछ भने माछाको मम, माछा फ्राइ, माछाको सेकुवा समेत बिक्री गरिने प्रालिका सञ्चालक खेमराज गुरुङले बताउनुभयो । ‘मनहरीको पहिचान भनेकै माछा र तामा हो’, आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव पदमबहादुर तितुङले भन्नुभयो–‘यसपटकको जाडो याममा महोत्सव परिसरमै तामा र माछाको स्वाद चखाउने व्यवस्था मिलाएका छौँ ।’
स्थानीय रैथाने बालीको प्रबर्द्धन, चेपाङ्ग, बनकरियाको संस्कृतिक प्रदर्शनी
१ सय ५० वटा स्टल रहने महोत्सवमा मनहरी, राक्सिराङ्ग, कैलाशमा उत्पादित गेडागुडी, गिठ्ठा, लोकल कुखुरा, घट्टमा पिसेको मकैको पिठो, कोदोको पिठो, मास, गहत, मह, भटमास लगायत कृषि प्रदर्शनी, रैथाने बाली प्रबर्द्धनको लागि प्राथमिकता दिएको छ। महोत्सवमा चेपाङ, तामाङ, बनकरिया समुदायको जीवनशैली झल्कने स्टलहरु प्रदर्शनीमा रहने छ।
स्थानीय लुकेका प्रतिभाहरुलाई उजागर गर्दै राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचार-प्रसार उपसमिति संयोजक राजु राउतले बताउनुभयो । कोरोनाका कारण २०७५ सालदेखि रोकिएको महोत्सव ५ बर्षको अन्तरालमा आयोजना हुन लागेको हो । पाँचौ संस्करणको मनहरी महोत्सव ६० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ।