हेटौंडामा दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि

तामसालिङ खबर
२० आश्विन २०८०, शनिबार ०६:१६

असोज, हेटौंडा – हेटौंडा उपमहानगरपालिका क्षेत्र सहित मकवानपुरमा दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ ।

आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ ।

यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ । बजारमा खरिद गर्ने हरेक सामानको मुल्यबृद्धीले हैरान भएको हेटौंडा–४ का उपभोक्ता उसा सापकोटा बताउनुहुन्छ । दशै अगाडी अहिले जिल्ला प्रशासन कार्यालय सहितले बजार अनुगमन पनि तिब्र पारेका छन् । अनुगमनले पनि बजारमा मुल्यबृद्धी रोक्नका लागि खासै काम गरेको देखिदैन ।

कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालो बजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिबानाको व्यवस्था गरेको छ ।

सो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपियाँसम्म जरिबाना वा दुवै हुन सक्ने छ तर व्यापारीले ११५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् ।

पछिल्लो महँगीले उपभोक्ता मात्रै होइन, हेटौंडाका व्यापारी पनि हैरान छन् । बजारभाउ महँगिँदा उपभोक्ताको किनमेल नै पातलिएको व्यापारीहरु बताउँछन् । पछिल्लो एक वर्षको बिचमा वस्तुको कारोबार ५० प्रतिशतले घटेको छ । विगतका वर्षमा चाडपर्वमा महँगो हुन्छ भन्दै पहिले नै किन्न आउने उपभोक्ताको भिड हुने गरेको अनुभव उनीहरु सुनाउँछन् ।

दैनिक उपभोग्य वस्तु महँगिँदा सरकारका नियमकारी निकाय त्यति गम्भीर नभएको आरोप उपभोक्ता अधिकारकर्मीको छ । चाडपर्वको मुखमा सबै खाद्यवस्तु महँगिँदा सरकारको चाडपर्वलक्षित अनुगमनको प्रभाव देखिन नसकेको बताउँछन् । सरकारको चाडपर्वलक्षित अनुगमन खाली बजेट सकाउनेबाहेक केही हुन नसकेको उपभोक्ताको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*