पुष देखि मदन भण्डारी विश्व विद्यालयमा पढाई शुरु हुने

तामसालिङ खबर
२७ भाद्र २०८०, बुधबार ०७:१८

भदौ, हेटौडा (थाहा नगर) – उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी पुस देखि जैविक कृषि विषयमा स्नातकोत्तर र विद्यावारिधिको पढाइ सुरु गर्ने भएको छ।

थाहा नगरपालिका ९ चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पठनपाठन सुरु गर्नका लागि भवन लगायत ल्याब निर्माण गरिरहेको छ। करिब ८९ लाखको लागतमा एक वर्षदेखि निर्माण कार्य सुरु गरिरहेको छ ।

‘चार वटा भवन मध्ये अव एउटा मात्र भवन तयार हुन बाँकी छ,’विश्व विद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले भने,‘पुस १ गतेदेखि पढाइ सुरु गर्ने लक्ष्य लिएका छौँ ।’ स्नातकोत्तर र विद्यावारिधिका लागि जम्मा ३२ जना विद्यार्थी भर्ना लिने विश्वविद्यालयले जनाएको छ ।

‘उक्त विश्वविद्यालयमा अध्ययनरत विद्याथी चित्लाङमै कोठा लिएर पनि बस्न सक्छन् । काठमाडौंदेखि आउजाउ पनि गर्न सक्छन्,’ अध्यक्ष जोशीले भने । थानकोटबाट चित्लाङ १२ किलोमिटरको दूरीमा छ । विश्वविद्यालयलाई आवश्यक पर्ने विद्युत् पनि सोलार मार्फत उत्पादन गरिसकेको छ ।

अहिले विद्युत् आवश्यक नपरेकाले विद्युत् प्राधिकरणको ११ केभी प्रसारण लाइनमा जोडिएको छ । विश्वविद्यालयले प्राधिकरणलाई प्रतियुनिट ५ रुपैयाँ ८४ पैसामा विक्री गरेको जनाएको छ । सय वटा सोलार प्यानलबाट ५ सय किलोवाट विद्युत् उत्पादन हुन्छ ।

सरकारले १ सय ८० रोपनी जग्गाको भोगाधिकार उक्त विश्वविद्यालयलाई दिइसकेको छ । थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*