एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

तामसालिङ खबर
२६ भाद्र २०८०, मंगलवार १३:४९

भदौ, ललितपुर – नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको आकस्मिक बैठकले सो निर्णय गरेको हो । त्यसैगरी पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने पनि ज्ञवालीले जानकारी दिनुभयो । बैठकले नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ ।

आकस्मिक बैठकले नेम्वाङको अप्रत्याशित निधनप्रति विशेष शोक प्रस्ताव पारित गरेको छ । एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङको हृदयाघातबाट गएराति निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*