मकवानपुरको दरबारडाँडामा ‘दारको पकेट क्षेत्र घोषणा’

तामसालिङ खबर
२२ भाद्र २०८०, शुक्रबार ०८:१७

भदौ, हेटौंडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा रहेको दरबारडाँडा सामूदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा दार पकेट क्षेत्र घोषणा गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीको अगुवाईमा सो स्थानमा दारको पकेट क्षेत्र घोषणा गरिएको हो ।

‘दार’बाट बन्ने ठेकीका लागि प्रख्यात जिल्ला मकवानपुरमा पहिलोपटक दारको पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णु प्रसाद आयार्चले बताउनुभयो । पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकोले पनि दार वृक्षारोपणमा सबै सामूदायिक वनकर्मीहरु लाग्नुपर्ने बताएका छन् ।

भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि पकेट क्षेत्र घोषणा गरिएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्य, डिभिजन वन कार्यालय मकवानपुर हेटौंडाका प्रमुख शिवप्रसाद सापकोटा, सहायक वन अधिकृत बसन्तराज गौतम, भीमफेदी वडा १ का वडा अध्यक्ष सोम बहादुर स्याङ्तान, मकवानपुरगढी ५ का वडा सदस्य अर्जुन बहादुर रुम्बा, वन समूहका अध्यक्ष पूर्ण बहादुर स्याङ्तान, सचिव शर्मिला महत, बद्री प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुरको चिनारीको रुपमा रहेको दारको ठेकी लोप हुदैँ गए पछि मकवानपुरको विभिन्न स्थानहरुमा दारको वृक्षारोपण कार्य डिभिजन वनले गर्दै आइरहेको छ ।

दरबारडाँडा वनको करिब २ हेक्टर क्षेत्रफलमा १ हजार ४५० वटा विरुवा रोप्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा ८ सय वटा विरुवा र दोस्रो चरणमा ६५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको डिभिजन वन कार्यालयले जनाएको छ । यस अघि बकैया गाउँपालिका वडा नम्बर १२ चपकीमा पनि एक हजार दारको विरुवा रोप्ने काम भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*