बागमती प्रदेशका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गरिने

तामसालिङ खबर
१३ भाद्र २०८०, बुधबार ०६:११

भदौ, हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेशका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न न्यायिक सहजकर्ता नियुक्त गर्ने भएको छ । यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकाहरूमा न्यायिक सहजकर्ता नियुक्तिका लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ ।

प्रदेशको ११ वटा जिल्लाका ७१ वटा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सचिव ध्रुव गैँडाले जानकारी दिए । सचिव गैँडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिका लागि मंगलबार सूचना प्रकाशन गरेको हो ।

मन्त्रालयले न्यायिक सहजकर्ताहरूलाई करारमा नियुक्त गर्न लागेको सचिव गैँडाको जानकारी दिए। उनले सम्बन्धित गाउँपालिकाहरूको समन्वयमा प्रतिपालिका एकजना सहजकर्ता नियुक्त गर्ने गरी सूचना जारी गरिएको बताए । गाउँपालिकाहरूमा रिक्त रहेका सहायकस्तर पाँचौँ तहमा न्यायिक सहजकर्ताको पद पूर्तिका लागि ०८१ असार मसान्तसम्मका लागि करारमा पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाइ छ ।

स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको हो । तर, प्रदेशका तीनवटा गाउँपालिकाहरूले भने प्रदेश सरकारमार्फत न्यायिक सहजकर्ता नियुक्त नगर्ने जनाएका छन् । सचिव गैँडाका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन् ।

उक्त पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरूले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरूलाई प्राथमिकता दिइनेछ । उक्त पदका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिन सक्ने बताइएको छ । नयाँ पत्रिकाबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*