भूमिहीन सुकुम्बासीले गर्यो, मनहरी गाउँपालिका घेराउ
भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा भूमिहीन सुकुम्बासी, अव्यवस्थित बस्ती संघर्ष समितिले मनहरी गाउँपालिकाको कार्यालयमा धर्ना घेराउ कार्यक्रम गरेको छ ।
संघर्ष समितिका मकवानपुर अध्यक्ष क्षेत्रबहादुर मुक्तानको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा नेपाल कांग्रेस गाउँपालिका अध्यक्ष प्रकाश बर्तौला, नेकपा एमाले पालिका अध्यक्ष नवीन सुवेदी, नेकपा माओवादी केन्द्रको अध्यक्ष रामप्रसाद कालाखेती, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द सापकोटा, संघर्ष समिति सल्लाहकार बिरेन्द्र डिसी, डम्बरबहादुर मुक्तान लगायतको सहभागीता रहेको थियो।
समितिले भुमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीको भू-स्वामित्व कायम गर्नुपर्ने, संरक्षित क्षेत्रलाई संरक्षण गर्नुपर्ने, मध्यवर्तीको नाममा निकुञ्जको ज्यादतीलाई अन्त्य गर्नुपर्ने, संविधानमा उल्लेखित जनताको मौलिक हक अधिकारको सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिएको थियो।
यसैगरी, जनताप्रति उत्तरदायी बन्न स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२५–२०७५–३ क, (१) मा उल्लेखित दफालाई खारेज गर्नुपर्ने, भुमि सम्बन्धी ऐन २०७६ खण्ड ६५ को दफा ५२ ख, ४ को उपदफा (ग) मा उल्लेखित परिभाषालाई खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
संघर्ष समितिका अध्यक्ष मोक्तानले मध्यवर्ती क्षेत्रमा स्थानीय नागरिकले निकै दुःख झेल्नु परेको बताउनुभयो । आफूहरुको माग पूरा नभए भदौ २५ गते पालिका र मनहरीका सबै वडा कार्यालयमा तालाबन्दी गर्ने बताउनुभयो । त्यति गर्दा पनि माग पूराको सुनुवाइ नभए जनप्रतिनिधिहरूको घरमा तालाबन्दी गर्ने चेतावनी समेत दिनुभयो ।