ओ पेङ्दोर्जे हेटौडामा वाचन
असार, हेटौडा – कवि राजु स्याङ्तानको कविता संग्रह ‘ओ पेङ्दोर्जे’ मा संग्रहित रहेको दर्जनौ कविता हेटौडामा वाचन भएको छ ।
‘कविता यात्रा’ को देशदौडको क्रममा शनिबार हेटौडामा शनिबार आइपुग्नु भएको कवि स्याङ्तानले संगीतमय धुनहरु संगै दर्जनौ कविताहरु वाचन गर्नु भएको हो।
उहाँले गाउँ हराएको कथा, च्याङ्बाको रहर, छुटेको प्रचण्ड, साङमो, किस्ताबन्दी, बिमा, पिपाको हुंकार, गुमनाम ताराहरु, रामबहादुर मार्ग, दाजुभाइ शीर्षकमा कविता वाचन गर्नुभयो । यस्तै, आमा तिमी मात्, पुर्खाहरुको सम्झनामा शीर्षकमा कविता वाचन गर्नुभएको हो । कवि स्याङ्तानले नयाँ युगको पिपा र सुसारे बन्न अस्वीकार गर्नेहरुका लागि उक्त कविता संग्रह रहेको बताउनुभयो ।
कवि तथा सञ्चारकर्मी एस लामाले राजु स्याङ्तानकृत ओ पेङ्दोर्जे कविता संग्रहमाथि सहजीकरण गर्नुभयो । लामाले उक्त कविता संग्रहमा एक सय ४४ पृष्ठमा ५१ वटा शीर्षकका कवितालाई ६ खण्डमा विभाजन गरिएको बताउनुभयो । मजदुरको घोषणापत्र, आमा तिमी मात, योद्धा, अन्तिम प्रेमपत्र, एकदिन, पिपाको कथा गरी ६ खण्डमा विभाजन गरिएको छ ।
यसअघि काभ्रे, धरानलगायत ५ वटा जिल्लामा कविता यात्राको क्रममा पुगिसक्नुभएको छ। महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक, राजनीतिक आन्दोलनमा सक्रिय हुनुहुन्छ । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान तथा फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कविता संग्रह हो । नेपाल तामाङ घेदुङ बागमती प्रदेशको आयोजना तथा नेपाल तामाङ घेदुङ मकवानपुरको व्यवस्थापनमा कार्यक्रम भएको हो । पूर्व प्रदेशसभा सदस्य ओमबहादुर घलान, कवि शान्ति प्रियबन्दना र कवि निमेष निखिलले उक्त कविताहरु माथि बहस गर्नुभयो ।
वक्ताहरुले भुइँ मान्छे, सिमान्तकृत तथा उत्पीडित समुदाय, आदिवासी जनजाति, तामाङ समुदायको रितिरिवाज, इतिहास, संस्कृति, चालचलन, पहिचानहरुलाई सरलरुपमा कवितामार्फत् उठान गरिएको बताउनुभयो ।
यथार्थतालाई कवि स्याङ्तानले सशक्त र स्पष्टरुपमा कवितामार्फत् उठान गरिएको कवि निखिलले बताउनुभयो । नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ( छिन्तु) लगायत साहित्यकार, जनप्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।