मदन भण्डारी बिश्व विद्यालयको केन्द्रिय कार्यालय चित्लाङबाट संचालन हुने

तामसालिङ खबर
१ भाद्र २०८०, शुक्रबार ०६:२३

भदौ, हेटौडा (थाहा नगर) – मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आजबाट उत्तरी मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ ।

मकवानपुरको थाहा नगरपालिका ९, चित्लाङबाट विश्वविद्यालय सञ्चालन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ । हाल केन्द्रीय कार्यालय ललितपुरको सैँबुबाट सञ्चालन हुँदै आएकोमा अब भने चित्लाङमा केन्द्रीय कार्यालय र काठमाडौँ उपत्यकामा सम्पर्क कार्यालय रहने भएको छ ।

विश्वविद्यालयका कन्सल्टेन्ट प्राध्यापक सञ्जयनाथ खनालले भदौ १ गतेदेखि चित्लाङबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले हाल केन्द्रीय कार्यालयका सामानहरू सार्ने काम भइरहेको भन्दै विश्वविद्यालयको अध्यापन लगायतका कार्यहरू चित्लाङबाट हुने भएकाले केन्द्रीय कार्यालय चित्लाङमा स्थानान्तरण गर्न लागेको बताउनुभयो । चित्लाङमा विश्वविद्यालयका लागि कक्षाकोठालगायतका आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ बाट सुरु गरिएको थियो ।

मंसिरदेखि अध्यापन
मदन भण्डारी विश्वविद्यालयले आगामी मंसिरदेखि अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयका कन्सल्टेन्ट खनालले आगामी डिसेम्बरबाट अध्यापन गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अध्यापनका लागि आवश्यक कतिपय भौतिक संरचना बनिसके कतिपय निर्माणाधीन छन् । स्नातकोत्तर र विद्यावारिधिका लागि सीमित विद्यार्थी राखेर अध्यापन सुरु गर्दै छौँ ।” आगामी डिसेम्बरबाट अर्गानिक कृषि, फरेस्ट बायोमेट्रियल्स, आर्टिफिसियल इन्टेलिजेन्स र टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा स्नातकोत्तर र विद्यावारिधि उपाधिका लागि पढाइ हुनेछ । गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*