फेरी धकेलियो हेटौडाको सडक विस्तार गर्ने कार्य
साउन, हेटौँडा – लामो समयबाट विवादमा रहेको हेटौँडा सडक विस्तार कार्य पुन: आठ दिन पर धकेलिएको छ ।
सडक विस्तारको विषयमा सर्वोच्च अदालतले साउन २१ गते आइतबारका लागि तोकेको पेशी हेर्न नमिल्नेमा परेपछि आगामी साउन २९ गतेसम्मको लागि पेशी पुनः सरेको थियो ।
सर्वोच्च अदालतले आज साउन २९ गते सोमबारका लागि तोकेको पेशी हेर्न नभ्याइनेमा परेपछि सर्वोच्चले आगामी भदौ ५ गतेका लागि फेरी अर्को पेशी तोकेर सरेको छ ।
गत साउन १६ गतेदेखि सर्वोच्चले पेशी लगातार सार्दै आएको छ । १६ गतेका लागि तोकिएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गते पनि सो रिटहरु हेर्न नभ्याइनेमा परे पछी साउन २९ गतेसम्मको लागि पेशी पुनः सरेको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार आसपासको जमिनमा रहेका घरटहरा लगायतका संरचना हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद गत साउन १५ गते सकिएको छ । डिभिजनले श्रावण १६ बाट बिस्तार अभियान सुरु गर्ने भन्दै ६० वटा डोजर सहितका सामग्री तयारी अवस्थामा रहेको जनाएको थियो ।