विश्वमै दुर्लभ: राक्सिराङ्गमा सीता र त्रिजटाको मुर्ति एकसाथ अनावरण हुँदै

तामसालिङ खबर
१८ असार २०८०, सोमबार ०४:४६

असार, हेटौडा (राक्सिराङ) – आज १८ गते गुरु पूर्णिमाको दिन मकवानपुरको राक्सिराङ गाउँपालिकामा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा राक्सिराङ्ग ३ मा रहेको अशोक वाटिकामा सीता त्रिजटाको मुर्ति स्थापना गर्न लागिएको हो।

भगवान रामकी पत्नी सीता र उनलाई रावण सेनाले अपहरण गरेर राखिँदा रेखदेखका लागि राखिएको महिला त्रिजटाको मूर्ति निर्माण भएको छ । यो मूर्ति विश्वमै दुर्लभ छ’, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले भन्नुभयो: हामीहरुले सीता अशोक बाटिकामा सीता र त्रिजटाको मूर्ति एकै स्थानमा राख्ने दुस्साहस गरेका छौँ ।’

धर्म गुरुहरुले भगवान सँगै राक्षसको मूर्ति राख्न हुँदैन भनेर पनि नसुझाएका होइनन्, तर राक्षस पक्षधर भएपनि एउटी महिलामाथि परेको संकटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई पनि भूमिकाका आधारमा भगवान सरह नै मान्नुपर्ने तर्क बलियो भएकाले सीता सँगै त्रिजटाको मूर्ति राखिएको आचार्य बताउनुहुन्छ।

राक्सिराङ गाउँपालिका र डिभिजन वन कार्यालय मनहरी राप्तीको समन्वयमा आगामी दिनमा राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर नजिकै रहेको पचभैया ढिस्कोमा राम, लक्ष्मण, हनुमानसहितको बाँदर सेनाको समेत मूर्तिहरु बनाउने र सीता अशोक बाटिकामा रहेकी सीतालाई अपहरणमुक्त बनाउन बाँदर सेना अघि बढिरहेको सांकेतिक रुपमा दृष्य प्रस्तुत गर्ने तयारी छ ।

यसका लागि आगामी बर्षहरुमा बजेट बिनियोजन गरी काम अघि बढाइने गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ । भारतमा असाध्यै श्रद्धाका साथ मानिने राम, सीता र हनुमानको मूर्ति राक्सिराङमा स्थापन गरी धार्मिक पर्यटक भित्र्याउने योजना राक्सिराङ गाउँपालिकाको छ ।

नजिकै रहेको जलपरी झरना, अशोक बाटिका, गिरिङ्दीमा रहेको गुम्बा लगायतको क्षेत्रहरुमा पर्यटकलाई घुमाउने र स्थानीय होमस्टे सञ्चालन गर्ने योजना गाउँपालिकाको रहेको छ ।

अनावरण कार्यक्रममा भजन टोली, बाजागाजासहित संरक्षणकर्मीहरु, जनप्रतिनिधिहरु शिक्षक, विद्यार्थी, स्थानीय उपभोक्ताहरुको बाक्लो उपस्थिति हुने गरी व्यवस्थापन गरिएको आयोजक भर्याङ्गकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव भारतीले बताउनुभयो । डिभिजन वन कार्यालय राप्ती मनहरीको अगुवाईमा केहि महिनाअघिदेखि सीता र त्रिजटाको मुर्ति निर्माण थालिएको थियो ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*