काठमाडौंमा खुल्यो, ‘स्काई वाक’

पत्रपत्रिकाबाट
१५ असार २०८०, शुक्रबार ०६:३३

असार, काठमाडौँ – काठमाडौंमा शुक्रबारदेखि ‘स्काई वाक’को मज्जा लिन पाइने भएको छ । २०७६ मंसिरदेखि नै सुरुवात भएपनि कोरोनो महामारी लगायत विविध कारणले गर्दा सञ्चालनमा ढिलाई भएको कम्पनीका प्रबन्ध निर्देशक सोहन श्रेष्ठले बताए ।

२२ औं तल्लामा रहेको स्काई वाकको मज्जा लिन सर्वसाधरणले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ । ८० वर्षदेखि ३ फिटसम्म उचाइ भएकालाई निशुल्क, ७० देखि ८० वर्षसम्मलाई ५ सय रुपैयाँमै टिकट उपलब्ध गराइने श्रेष्ठले बताए । स्काई वाकबाट ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृष्य अवलोकन गर्न पाइने कम्पनीले जनाएको छ ।

हाललाई बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म स्काइ वाक खुल्नेछ । ७८.५ मिटर अग्लो टावरमा १८ तलासम्म पुग्न २ वटा लिफ्ट छ भने त्यसपछि बाहिरी दृष्याअवलोकन गर्दै २२ औं तल्लासम्म पुग्न सकिने श्रेष्ठले बताए । ‘अग्लो स्थानमा गएर बाहिर दृष्य हेर्ने भ्युटावर मात्र होइन, यो विशुद्ध स्काइ वाक हो, जहाँबाट वरिपरिका दृश्यसहित सिसामा हिँड्न पाइन्छ, रोमाञ्जक महसुस हुन्छ,’ उनले भने, ‘अब स्काई वाकको मज्जा लिनकै लागि विदेश धाउनुपर्ने अवस्था रहेन ।’

वन्डर्सले १३ रोपनी ४ आनामा फैलिएको जग्गामा बन्जी समेत विस्तार गर्ने योजना रहेको जनाएको छ । त्यसका लागि अनुमति लिने काम भइरहेको उनले बताए । विकसित देशमा स्काइ वाक जताततै भएपनि हाम्रो छिमेकी देश भारतमै नबनेको स्काइ वाक नेपालमा सुरु गर्न पाएको उनको भनाइ छ । ‘आन्तरिक पर्यटकलाई आकर्षण एम्पिथियटरको पनि व्यवस्था छ, जहाँ टिकट काट्नु पर्दैन’ उनले भने ‘स्काइ वाकको मात्रै पैसा तिर्नुपर्नेछ ।’

उनका अनुसार स्काई वाकमा एक पटकमा ५ सयसम्म अटाइन्छ । तर पहिलो चरणमा अहिले २५० देखि ३ सय जनालाई मात्र एक पटकमा जान दिइनेछ । ‘स्काइ वाक गर्न सबै गरी ३३ एमएम मोटाइको सिसा प्रयोग गरिएको छ, ब्रिटिस स्ट्यान्डर्डको सिसा हो,’ उनले भने, ‘सुरक्षामा कुनै द्धिविधा छैन, काठमाडौं महानगर र पर्यटन विभागले समेत पटक पकट परिक्षण गरेर मात्रै अनुमति दिएको हो ।’ परिवार लिएर टाढा जान नसक्ने र पारिवारिक वातावरणको लागि एड्भेन्चर, बगैंचा, रेष्टुरेन्ट, क्याफेसहितको एउटा पर्यटकीय गतव्यको रुपमा विस्तार गर्न खोजिएको उनले बताए । उनका अनुसार करिब २ अर्ब लगानीमा पहिलो चरणको प्रोजेक्ट सम्पन्न भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*